काठमाडौं । त्रिभुवन आर्मी क्लबले दोस्रो संस्करणको मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि जितेको छ । इटहरी क्षेत्रिय रंगशालामा शनिबार भएको खेलमा लिग विजेता मनाङ मस्र्याङ्दी क्लबलाई २–० ले पराजित गर्दै आर्मीले उपाधि उचालेको हो ।
उपाधिसंगै आर्मीले १६ लाख प्राप्त गर्याे । उपविजेता मनाङले ८ लाखमा चित्त बुझायो ।
आर्मीको जितमा टंक बस्नेत र कप्तान भरत खवासले गोल गरे ।
खेलको चौथौ मिनेटमा टंक बस्नेतले आर्मीलाई अग्रता दिलाएका थिए । सन्तोष तामाङको कर्नर पासमा मनाङका डिफेन्सले क्लियर गर्न नसकेको बललाई पहिलो बार च्याप्दै टंकले गोल गर्न सफल भएका थिए ।
खेलको ८१ मिनेटमा आर्मीले अग्रता दोब्बर बनायो । उसका लागि कप्तान भरत खवासले दोस्रो गोल गरे । काउन्टर पासमा मनाङका दुई डिफेन्डरलाई बिट गर्दै भरतले गोल गर्न सफल भएका थिए ।
जितसंगै आर्मीले मोफसलका दुई गोल्डकपको उपाधि उचाल्न सफल भएको छ ।
यसले यसअघि विशाल मेमोरियल कपको उपाधि जितेको थियो ।
आर्मी क्लब फिदिम गोल्डकप र सिमरा गोल्डकपको उपविजेता समेत बन्न सफल भएको थियो ।
दोस्रो हाफमा मनाङ १० खेलाडीमा सिमित हुन पुगेको थियो ।
विदेशी खेलाडी आफिज ओलावाले दोहोरो पहेलो कार्ड खादै ७३ औ मिनेटमा मैदान बाहिरिएका थिए ।
खेलेको १० मिनेटमा मनाङका सुजल श्रेष्ठले गोल गर्ने सुनौलो अवसर खेर फाले । उनले हानेको फ्रिकिक क्रसबारको केही माथीबाट बाहिरिएको थियो ।
खेलको ५५ मिनेटमा हेमन गुरुङको फ्रिकिक आर्मी गोलरक्षक विकेश कुथुले बचाउ गरेका थिए । ७७ मिनेटमा विमल रानाको फ्रिकिक आर्मी गोलरक्षक विकेशले उत्कृष्ट बचाउ गर्दै मनाङलाई निराश पारे ।