मियामीको जितमा मेसीको २ गोल

काठमाडौं। लिओनल मेसीले दुई सानदार गोल मेजर लिग सकर लिग (एमएलएस) मा इन्टर मियामीलाई सीएफ मोन्ट्रियलविरुद्ध ४–१ को जित दिलाएका छन्।
खेलको ४०औं मिनेटमा मेसीले मियामीको पक्षमा अग्रता दिलाए। थोमस अविलेसको लामो पासलाई लुइस सुआरेजले हेडरमार्फत मेसीलाई पास गरे। मेसीले बल नियन्त्रण गर्दै बक्सभित्र प्रवेश गरे र बायाँ खुट्टाले फर पोस्टतर्फ गोल गरे।
मियामीका लागि यो एक महिनापछि खेलिएको पहिलो एमएलएस खेल हो। मियामी हालै क्लब विश्वकपमा प्रतिस्पर्धा गरेर फर्किएको हो। गत साता पीएसजीसँग ४–० ले पराजित भएको थियो।
मोन्ट्रियलका लागि प्रिन्स ओवुसुले खेलको दोस्रो मिनेटमै गोल गर्दै सुरुआतमा अग्रता दिलाएका थिए। ३३औं मिनेटमा टाडेओ अल्लेन्देले मेसीको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए।
६०औं मिनेटमा टेलास्को सेगोभियाले मियामीका लागि तेस्रो गोल गरे। त्यसको दुई मिनेटमै मेसीले पुनः गोल गर्दै टोलीको जित सुनिश्चित गरे। यसपटक पनि उनले मोन्ट्रियलका डिफेन्डरहरूको भीड छिचोल्दै उत्कृष्ट फिनिस गरे।
मेसीले यो सिजन १४ एमएलएस खेलमा १२ गोल गरिसकेका छन्।












