काठमाडौं । विभागीय नेपाल पुलिस, पोखरामा जारी मनकामना पोखरा कप प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ । शनिबार पोखरा रंगशालामा भएको अन्तिम प्रिक्वार्टरफाइनल खेलमा पुलिसले सीएमजी संकटा क्लबलाई २–१ गोल अन्तरले हराएको हो ।
पुलिसले संकटाविरुद्ध पुनरागमन जित दर्ता गर्यो । उसको जितमा अभिषेक रिजाल र रवि शंकर पासवानले गोल गरे ।
खेलमा पहिलो गोल संकटाले गर्याे । खेलको ११ मिनेटमा सुभाष गुरुङले मिलाएका बलमा ईलेन म्याक्सवेलले हेड गोल गरेका थिए ।
तर पुलिसले लगातार दुई गोल खेल आफ्नो पक्षमा पार्यो ।
३२ मिनेटमा अभिषेक रिजालले पुलिसका लागि बराबरी गोल गरे । डिबक्स भित्रबाट निर कुमार राईले मिलाएको पासमा संकटा गोलकिपर राजाबाबु थापालाई बिट गर्दै अभिषेकले गोल गरेका थिए ।
५४ मिनेटमा पुलिसले अग्रता दोब्बर बनायो । उसका लागि रवि पासवानले गोल गरे । विदेशी खेलाडी टंम्पिले गोलकिपरलाई दिएको ब्याकपासमा रविले बल खोस्दै गोल गर्न सफल भए ।
खेलको पाँचौ मिनेटमा संकटाले पहिलो आक्रमण बुनेको थियो । सरोज दाहालको पासमा निराजन खड्काको हेड बल पहिलो बार नजिकैबाट बाहिरिएको थियो ।
खेलको १९ मिनेट संकटाका लक्ष्मण रुचालले डिबक्स बाहिरबाट हानेको प्रहारले पोष्टको दिशा लिन सकेन ।
६५ मिनेटमा संकटाले खेल बराबरीमा ल्याउने सुनौलो अवसर गुमायो । लक्ष्मण रुचालको प्रहार सिधै पुलिस गोलकिपर शत्रुधन चौधरीको हातमा गएको थियो ।
खेलको ७७ औँ मिनेटमा संकटाका अमित तामाङको फ्रिकिक प्रहार पुलिसका गोलरक्षक शत्रुधन चौधरीले उत्कृष्ट बचाउ गरे ।
खप्तड गोल्डकपमा पुलिसले पेनाल्टी सुट आउटमा संकटामाथि जित दर्ता गरेको थियो ।
भोली (आईतबार) हुने पहिलो क्वार्टरफाइनल खेलमा विभागीय एपीएफ र रुस्लान थ्रीस्टारबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा ११ टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले ७ लाख ५५ हजार र उपविजेता टिमले ४ लाख ५ हजार प्राप्त गर्नेछ ।