काठमाडौं । मदन भण्डारी स्मृति आमन्त्रण ईटहरी गोल्डकप फुटबलको फाईनलमा आज (शनिबार) त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुदैछ ।
ईटहरी रंगशालामा हुने खेल दिउँसो साढे २ बजे सुरु हुनेछ ।
मनाङले पुलिस र आर्मीले मेची नेत्रालयलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।
सहिद स्मारक ए डिभिजन लिग विजेता मनाङ मोफसलको पहिलो प्रतियोगिता जित्ने दाउमा छ । मनाङ प्रतियोगिताको साविक उपविजेता समेत हो ।
लिग लगत्तै विरगञ्जमा भएको बिशाल मेमोरियल गोल्डकप जितेको आर्मी मोफसलमा दोस्रो उपाधि उपाधिको खोजीमा छ ।
ईटहरीको प्रस्तावित रंगशालामा हुने फाईनल खेल जित्ने दुवै क्लबको दाबी छ ।
मनाङका कप्तान सुजल श्रेष्ठ भन्छन्, ‘फाइनल हो, जित र हारको सम्भावना बराबर छ । आर्मीले पनि दावेदार टोलीलाई हराएर फाइनल पुगेको हो ।’
कप्तान श्रेष्ठले तयारी राम्रो भएकाले जितका खेल्ने बताए । अघिल्ला खेलमा भएका कमजोरीलाई फाईनल खेलमा सच्चाउने उनको भनाई छ ।
मनाङका मुख्य प्रशिक्षक फुजा टोपेले आर्मीसंग पटक पटक प्रतिस्पर्धा गरेकाले विपक्षीबारे राम्रो ज्ञान भएको बताए । ‘आर्मीसंग भिड्न लागेको पहिलो पटक हैन । उनीहरु कसरी खेल्छन् हामीलाई राम्रो जानकारी छ ।’ उनले भने ।
मनाङ आक्रमक रणनीतिका साथ मैदान उत्रने प्रशिक्षक टोपे बताउँछन् ।
आर्मीका कप्तान भरत खवासले नियमित खेलाडीको चोटले अपेक्षा अनुसारको प्रर्दशन गर्न नसकेको बताए ।
विपक्षी टिमबारे जानकार रहेको भन्दै उनले आर्मीसंग नयाँ रणनीति नभएको बताए । ‘फाईनल पुग्नुनै सफलता हो । उपाधि जित्नेमा हामी विश्वस्त छौ ।’ उनले थपे ।
आर्मीका प्रशिक्षक चुनबहादुर थापाले खेल मैदान तुलनात्मक रुपमा सहज भएकाले उपाधिको प्रवल सम्भावना रहेको बताए ।
उनले भने, ‘मैदान गाह्रो हुदाँ हामीलाई मात्र होइन बिपक्षीलाई पनि समस्या हुन्छ । त्यसैले खेलमैदानले दुवै टिमको खेललाई बराबर निर्धारण गर्छ ।’