एजेन्सी । एसियाली पावर हाउस जापानलाई हराउँदै कतारले एसिया कप फुटबलको उपाधि जितेको छ । युएईमा शुक्रबार भएको फाइनलमा जापानलाई ३-१ गोल अन्तरले हराउँदै कतारले उपाधि जितेको हो ।
अबुधाबीस्थित जयाद स्पोर्टस सिटी स्टेडियममा कतारलाई जित दिलाउन अल्मोइज अली, अब्दुलाजिज हाटेम र आक्रम अफिफले एक एक गोल गरे । जापानका ताकुमी मिनामिनोले एक गोल फर्काए ।
बलियो टोली जापानविरुद्ध कतारले पहिलो हाफमै २ गोल गरेको थियो । खेलको १२ औं मिनेटमा अलीले गोल गर्दै कतारलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको २७ औं मिनेटमा हाटेमले गोल गर्दै कतारको अग्रता २-० को बनाए ।
दोस्रो हाफमा जापानले खेलमा फर्कने कोशिश गर्यो । खेलको ६९ औं मिनेटमा मिनामिनोले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । तर, खेलको ८३ औं मिनेटमा अफिफले पेनाल्टीमा गोल गर्दै कतारलाई ३-१ को जितसहित उपाधि दिलाए ।
योसंगै सन् २०२२ को विश्वकप आयोजक कतारले पहिलो पटक एसिया कप फुटबलको उपाधि जित्दै इतिहास बनाएको छ । यस्तै कतार एसिया कप जित्ने नवौं राष्ट्र बनेको छ ।
फाइनलमा कतारसंग स्तब्ध बनेपछि पाँचौ पटक एसिया कप जित्ने जापानको सपना पुरा हुन सकेन । जापान सर्वाधिक धेरै पटक एसिया कपको उपाधि जित्ने एक्लो टिम हो ।
यसअघि सेमिफाइनलमा जापानले ईरानलाई ३–० ले हराएको थियो । यस्तै कतारले घरेलु टोली युएईलाई ४–० ले पराजित गरेको थियो ।
एसिया कपमा कतारका अल मोइज अली ९ गोल गर्दै सर्वाधिक गोलकर्ता बने ।