काठमाडौं । एक दिवसीय अन्तराष्ट्रिय सिरिज जितेर ईतिहास रचेको नेपाल अर्को एक सफलताको नजिक पुगेको छ । अर्थात नेपाल पहिलो टी ट्वान्टी अन्तराष्ट्रिय सिरिज जित्न मात्र एक खेलले पछाडी छ ।
युएई भ्रमणमा रहेको नेपालले पहिलो टी ट्वान्टी खेल गुमाए पनि सिरिजमा उत्कृष्ट पुनरागमन गरेको छ । धारिलो बलिङलाई निरन्तरता दिदै दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट ब्याटिङ प्रर्दशन गरेपछि नेपालले दोस्रो टी ट्वान्टी जितेको छ ।
यसको अर्थ हो, नेपालले तीन म्याचको टी ट्वान्टी सिरिज १–१ को बराबरी गर्न सफल भएको छ । आईतबार हुने तेस्रो खेल जितेमा नेपालले पहिलो टी ट्वान्टी सिरिजमा कब्जा गर्नेछ ।
युएईको आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा आज (शुक्रबार) भएको दोस्रो टी ट्वान्टी क्रिकेटमा नेपालले उत्कृष्ट जित निकाल्न सफल भयो । युएईविरुद्व नेपालले प्राप्त गरेको जितका प्रमुख तीन आधार निम्न प्रकारको रहेको छ ।
दिपेन्द्रको उत्कृष्ट ईनिङ्स :
डेब्यु गरेका अलराउण्डर पवन सरार्फले बलिङ्मा राम्रो गर्न नसके पनि ब्याटिङ्गमा दिपेन्द्र सिंह ऐरीसंग ५५ रनको साझेदारी गरेपछि नेपालको जितको आधार तय भएको थियो । आउट हुनु अघि पवनले २५ बलमा १८ रन बनाएका थिए । दिपेन्द्रले व्यक्तिगत १ छक्का र ४ चौकाको मद्दतले ४७ रनमा अविजित रहे । खेलको अन्तिम ५ बलमा ७ रन नेपाललाई आवश्यक थियो । त्यसमा उनले छक्का र चौका प्रहार गर्दै उत्कृष्ट फिनिसिरको नमुना प्रस्तुत गरे ।
अघिल्ला खेलमा जम्न नसकेका उनले आजको खेलमा शानदार ईनिङ्स खेले । अघिल्ला क्रमका व्याट्सम्यान सस्तैमा आउट हुदाँ नेपालको धरासायी ईनिङ्सलाई उनैले सम्हालेका थिए । फिल्डिङमा समेत उनले १ क्याच गरे । अर्को एक रनआउट बनाउन सफल भए ।
कप्तान पारस खड्का गोल्डेन डक आउट हुदाँ प्रदिप ऐरी ८, कारण केसी २०, ज्ञानेन्द्र मल्ल ७ तथा डेब्यु टी ट्वान्टी खेलमा ५३ प्रहार गरेका सन्दिप जोरा भने १ रनमा पेभोलियन फर्किए ।
नेपालको कसिलो बलिङ :
बलिङमा उत्कृष्ट प्रर्दशन गर्दै आएको नेपालले टी ट्वान्टीको दोस्रो खेलमा समेत त्यसलाई निरन्तरता दियो । दोस्रो खेलमा समेत नेपालका बलरले आफुलाई उत्कृष्ट सावित गर्न सफल भए ।
तिव्र गतिका बलर सोमपाल कामी, करण केसी र सन्दिप लामिछानेले समान २÷२ विकेट लिए । दोस्रो अन्तराष्ट्रिय टी ट्वान्टी खेलिरहेका अभिनास बोहराले तीन विकेट चट्काए । पवन सरार्फ र ललित राजवंशी विकेट विहिन भए । कप्तान खड्काले भने बलिङ गरेनन् ।
खेलाडीको सहि छनोट :
नेपालले दोस्रो खेलमा दुई परिवर्तन गरेको थियो । रोहितको स्थानमा पवन र बसन्तको स्थानमा ललितले मौका पाएका थिए । दोस्रो खेलमा परिवर्तित दुवै खेलाडीले आफुलाई प्रमाणित गरे । पवनले दिपेन्द्रसंग मिलेर छैटौ विकेटकालागि ५५ रनको साझेदारी गरे । जुन नेपालको जितको आधार बन्यो । ललितले औसत प्रर्दशन गरे ।
नेपाली युवा खेलाडीले उच्च मनोबल बनाउदाँ युएईका खेलाडी खुलेर खेल्न सकेनन् । युएईका लागि प्रभाव देखाएका सीपी रिजवानले १ छक्का र ४ चौकाको मद्दतले ४४ रन बनाए । साइमन अनवर १४ र मोहोमद बोताले ११ रन बनाउनु बाहेक अन्य व्याट्सम्यानले दोहरो अंकको स्कोर छुन सकेनन् ।