काठमाडौं । ब्रिगेड ब्वाईज क्लब पोखरामा जारी मनकामना केबलकार पोखरा अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा ब्रिगेड ब्वाइजले आयोजक पोखरा ११ लाई १–० गोल अन्तरले पराजित गरेको हो ।
ए डिभिजन लिग खेलेका खेलाडीलाई मैदान उतारेको व्रिगेडलाई जित दिलाउन विदेशी खेलाडी करिम बुसारीले गोल गरे । खेलको ७२ मिनेटमा मनोज राईको फ्रिकिकलाई पोखराका गोलरक्षक अजित प्रजापतिले फुत्काएपछि प्राप्त अवसरमा करिम गोल गर्न सफल भए ।
थप समय दुवैतर्फबाट गोल हुन नसकेपछि ब्रिगेडले खेल जितेको थियो । लिगमा १२ औ“ स्थानमा रहेर अन्त्य गरेको ब्रिगेडले पहिलो पटक मोफसलको प्रतियोगितामा सहभागिता जनाएको हो ।
शनिबार (भोली) नेपाल पुलिस र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा ११ टिम सहभागि छन् । विजेताले ७ लाख ५५ हजार पाउनेछ । उपविजेतालाई ४ लाख ५ हजार दिईने आयोजकले जनाएको छ ।