काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) ले दोस्रो टी-ट्वान्टी क्रिकेटमा नेपाललाई जितका लागि १०८ रनको समान्य लक्ष्य दिएको छ ।
दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले १९ ओभर २ बलमा अलआउट हुँदै १०७ रनमा समेटियो ।
नेपालको बलर चम्किएको खेलमा युएईका लागि सिपी रिजवानले सर्वाधिक ४४ रन जोडे । यस्तै शाईमन अनवरले १४ तथा मोहमद बोताले ११ रन बनाए । युएईका ६ ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
युएईलाई सस्तैमा समेट्न नेपालका अविनास बोहराले ३ विकेट लिए । सन्दीप लामिछाने, करण केसी र सोमपाल कामीले २/२ विकेट लिए ।
नेपालविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिजमा युएई १-० ले अघि छ । पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो । आज नेपाल जित निकाल्दै सिरिज १-१ को बराबरी गर्न चाहन्छ ।
पहिलो टी-ट्वान्टी सिरिज जित्ने लक्ष्यमा रहेको नेपाललाई शुक्रबारको खेल जित्नै पर्ने दबाब छ । दोस्रो खेलमा पराजय व्यहोरेमा नेपालले एक खेल अगाबै सिरिज गुमाउनेछ । जित निकाले पहिलो टी-ट्वान्टी सिरिज जित्ने आशा कायम रहनेछ ।
टी-ट्वान्टी विश्वकपमा प्रतिस्पर्धा गरिसकेको नेपालले अहिलेसम्म टी-ट्वान्टी सिरिज जित्न सकेको छैन् । यसपटक नेपालले अर्को इतिहास रच्ने मौका हुनेछ ।
Pic: The National UAE