काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा नेपालले पहिले बलिङ गर्ने भएको छ ।
दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा युएईले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ पाएको हो ।
युएईविरुद्धको दोस्रो खेलमा नेपालले दुई खेलाडी परिवर्तन गरेको छ । बसन्त रेग्मी र रोहित कुमार पौडेललाई आराम दिइएको छ । पवन सर्राफ र ललित नारायण राजवंशी टोलीमा अटाएका छन् । पवनको टी-ट्वान्टी अन्तराष्ट्रियमा डेब्यु खेल हो ।
घरेलु टोलीविरुद्धको दोस्रो खेलका लागि मैदान उत्रदा नेपाल सिरिज जोगाउने लक्ष्यमा हुनेछ । पहिलो खेलमा २१ रनले पराजित नेपाल दोस्रो खेलमा जित निकाल्दै ३ खेलको सिरिज १-१ को बराबरी गर्न चाहन्छ ।
पहिलो टी-ट्वान्टी सिरिज जित्ने लक्ष्यमा रहेको नेपाललाई शुक्रबारको खेल जित्नै पर्ने दबाब छ । दोस्रो खेलमा पराजय व्यहोरेमा नेपालले एक खेल अगाबै सिरिज गुमाउनेछ । जित निकाले पहिलो टी-ट्वान्टी सिरिज जित्ने आशा कायम रहनेछ ।
टी-ट्वान्टी विश्वकपमा प्रतिस्पर्धा गरिसकेको नेपालले अहिलेसम्म टी-ट्वान्टी सिरिज जित्न सकेको छैन् । यसपटक नेपालले अर्को इतिहास रच्ने मौका हुनेछ । तर, युएईविरुद्ध जित निकाल्न नेपाललाई बिहिबारको खेल प्रदर्शनमा सुधार गर्नु पर्ने हुन्छ । बिहिबार कमजोर ब्याटिङ देखिदा नेपाल पराजित भएको थियो । शुक्रबार नेपालले उक्त गल्ती दोहोर्याउनु हुदैन ।
नेपालले हालसम्म दुई टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज खेलिसकेको छ । बंगलादेशमा सम्पन्न सन् २०१४ को टी-ट्वान्टी विश्वकप खेलेको नेपालले त्यहिँ वर्ष हङकङसंग श्रीलंकामा पहिलो पटक ५ खेलको सिरिज खेलेको थियो । तर, उक्त सिरिजको चार खेल वर्षाको कारण रद्द भएको थियो । अन्तिम खेलमा भने नेपाल हङकङसंग २ विकेटले पराजित भएको थियो ।
यस्तै नेपालले सन् २०१५ मा नेदरल्याण्डविरुद्ध ४ खेलको टी-ट्वान्टी सिरिज खेलेको थियो । जसमा नेपालले सिरिज ३-१ ले गुमाएको थियो ।