इटहरी । सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टिम आर्मीको नतिजा अपेक्षाकृत रहन सकेन । राष्ट्रिय टिमका स्टार खेलाडीले भरिएको विभागीय टिमले चौथो स्थानमा रहँदै लिगको अन्त्य गर्यो ।
मोफसलका प्रतियोगितामा सबै खाले सफलता चाखेको आर्मीलाई लिग भने खासै फापेको देखिदैन । शारिरिक र प्राविधिक रुपमा बलियो टोली भएर समेत आर्मीले लिगको उपाधि जित्न सकेको छैन ।
यता, घरेलु फुटबलको सर्वाधिक सफल क्लब हो, मनाङ । यसै सिजन कीर्तिमानी आठाैँ पटक लिग उपाधि जितेको मनाङ घरेलु फुटबलको सर्वाधिक लोकप्रिय क्लब हो । तर लिगको विजेता मनाङले मोफसलका प्रतियोगितामा खासै राम्रो नतिजा निकाल्न सकेको छैन ।
मनाङ यस कारण बढी चिन्तित छ, उसले एएफसी कप खेल्दैछ । उसका लागि मोफसलको प्रतियोगिता त्यसैको तयारी समेत हो । तर मोफसलको प्रर्दशन र नतिजाले उसलाई खुसी पक्कै दिएको छैन । मनाङ यस सिजन मोफसलको प्रतियोगितामा पहिलो पटक फाईनल पुगेको हो ।
घरेलु फुटबलका दुई बलिया टोली फेरी एक पटक भिड्दै छन्, मदन भण्डारी स्मृती आमन्त्रण ईटहरी गोल्डकपमा ।
ईटहरीको प्रस्तावित रंगशालामा हुने फाईनल खेल जित्ने दुवै क्लबको दाबी छ ।
मनाङका कप्तान सुजल श्रेष्ठ समेत यसलाई सहर्ष स्विकार गर्छन्, ‘फाइनल हो, जित र हारको सम्भावना बराबर छ । आर्मीले पनि दावेदार टोलीलाई हराएर फाइनल पुगेको हो ।’
कप्तान श्रेष्ठले तयारी राम्रो भएकाले जितका खेल्ने बताए । अघिल्ला खेलमा भएका कमजोरीलाई फाईनल खेलमा सच्चाउने उनको भनाई छ ।
मनाङका मुख्य प्रशिक्षक फुजा टोपेले आर्मीसंग पटक पटक प्रतिस्पर्धा गरेकाले विपक्षीबारे राम्रो ज्ञान भएको बताए । ‘आर्मीसंग भिड्न लागेको पहिलो पटक हैन । उनीहरु कसरी खेल्छन् हामीलाई राम्रो जानकारी छ ।’ उनले भने ।
मनाङ आक्रमक रणनीतिका साथ मैदान उत्रने प्रशिक्षक टोपे बताउँछन् ।
आर्मीका कप्तान भरत खवासले नियमित खेलाडीको चोटले अपेक्षा अनुसारको प्रर्दशन गर्न नसकेको बताए ।
विपक्षी टिमबारे जानकार रहेको भन्दै उनले आर्मीसंग नयाँ रणनीति नभएको बताए । ‘फाईनल पुग्नुनै सफलता हो । उपाधि जित्नेमा हामी विश्वस्त छौ ।’ उनले थपे ।
आर्मीका प्रशिक्षक चुनबहादुर थापाले खेल मैदान तुलनात्मक रुपमा सहज भएकाले उपाधिको प्रवल सम्भावना रहेको बताए ।
उनले भने, ‘मैदान गाह्रो हुदाँ हामीलाई मात्र होइन बिपक्षीलाई पनि समस्या हुन्छ । त्यसैले खेलमैदानले दुवै टिमको खेललाई बराबर निर्धारण गर्छ ।’
लिग सकिए लगत्तै आर्मीले विरगञ्जमा भएको विशाल मेमोरियल गोल्डकपको उपाधि उचालेको थियो । आर्मी सिजनको दोस्रो उपाधि जित्ने लक्ष्यका साथ ईटहरी गोल्डकपको फाईनलमा उत्रनेछ ।
गत बर्षको उपविजेता मनाङ भने आर्मीलाई रोक्दै मोफसलमा पहिलो सफलता आत्मसाथ गर्ने दाउमा छ ।