एजेन्सी । रियल मड्रिड कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहिबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा जिरोनालाई ३-१ गोल अन्तरले हराउँदै समग्रमा ७-३ को जितसहित रियल अन्तिम चारमा पुगेको हो ।
घरेलु मैदानमा भएको दोस्रो लेगमा रियललाई जित दिलाउन करीम बेन्जिमाले दुई गोल गरे । यस्तै मार्कुस लोरेन्टले एक गोल थपे । जिरोनाका पेड्रो पोर्रोले एक गोल फर्काए । पहिलो लेगमा रियलले जिरोनालाई ४-२ गोल अन्तरले हराएको थियो ।
घरेलु मैदानमा रियललाई सहज जित दिलाउन बेन्जिमाले खेलको २७ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ४३ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दा पहिलो हाफमा रियल २-० ले अघि रह्यो ।
जिरोनाविरुद्ध २ गोल गरेसंगै बेन्जिमा रियलका लागि छैटौं सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । बेन्जिमाले ४४६ खेल खेल्दै २०९ गोल गर्दै सर्वाधिक गोल गर्ने सूचीमा अटाएका हुन् । रियलका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान भने पुर्व स्टार क्रिस्टियानो रोनाल्डोको नाममा रहेको छ । रोनाल्डोले ४५१ गोल गरेका छन् ।
खेलको ७१ औं मिनेटमा जिरोनाका पेड्रोले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । तर, खेलको ७६ औं मिनेटमा मार्कुसले गोल गर्दै रियललाई ३-१ को सहज जित दिलाए ।