काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेको नेपालले आज (शुक्रबार) घरेलु टोलीविरुद्ध दोस्रो टी-ट्वान्टी क्रिकेट खेल्दैछ । तीन खेलको टी-ट्वान्टी सिरिज अन्तर्गत नेपालले शुक्रबार दोस्रो खेल खेल्न लागेको हो ।
दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार २:४५ मा सुरु हुनेछ । घरेलु टोलीविरुद्धको दोस्रो खेलका लागि मैदान उत्रदा नेपाल सिरिज जोगाउने लक्ष्यमा हुनेछ ।
पहिलो खेलमा २१ रनले पराजित नेपाल दोस्रो खेलमा जित निकाल्दै ३ खेलको सिरिज १-१ को बराबरी गर्न चाहन्छ । तर, घरेलु टोलीविरुद्ध नेपाललाई जित निकाल्न निकै कठिन हुनेछ । पहिलो खेल गुमाएर पनि पछिल्ला दुई खेल जितेर एकदिवसीय सिरिजमा कब्जा जमाउन सफल नेपाल उच्च मनोबलका साथ मैदान उत्रनेछ ।
यस्तै पहिलो टी-ट्वान्टी सिरिज जित्ने लक्ष्यमा रहेको नेपाललाई शुक्रबारको खेल जित्नै पर्ने दबाब छ । दोस्रो खेलमा परजय व्यहोरेमा नेपालले एक खेल अगाबै सिरिज गुमाउनेछ । जित निकाले पहिलो टी-ट्वान्टी सिरिज जित्ने आशा कायम रहनेछ ।
टी-ट्वान्टी विश्वकपमा प्रतिस्पर्धा गरिसकेको नेपालले अहिलेसम्म टी-ट्वान्टी सिरिज जित्न सकेको छैन् । यसपटक नेपालले अर्को इतिहास रच्ने मौका हुनेछ । तर, युएईविरुद्ध जित निकाल्न नेपाललाई बिहिबारको खेल प्रदर्शनमा सुधार गर्नु पर्ने हुन्छ । बिहिबार कमजोर ब्याटिङ देखिदा नेपाल पराजित भएको थियो । शुक्रबार नेपालले उक्त गल्ती दोहोर्याउनु हुदैन ।
नेपालले हालसम्म दुई टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज खेलिसकेको छ । बंगलादेशमा सम्पन्न सन् २०१४ को टी-ट्वान्टी विश्वकप खेलेको नेपालले त्यहिँ वर्ष हङकङसंग श्रीलंकामा पहिलो पटक ५ खेलको सिरिज खेलेको थियो । तर, उक्त सिरिजको चार खेल वर्षाको कारण रद्द भएको थियो । अन्तिम खेलमा भने नेपाल हङकङसंग २ विकेटले पराजित भएको थियो ।
यस्तै नेपालले सन् २०१५ मा नेदरल्याण्डविरुद्ध ४ खेलको टी-ट्वान्टी सिरिज खेलेको थियो । जसमा नेपालले सिरिज ३-१ ले गुमाएको थियो ।