एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर मारोउने फेलानी चिनियाँ क्लब शान्डोङ लुनेङ जाने भएका छन् ।
चिनियाँ सुपर लिग क्लब शान्डोङ लुनेङलाई फेलानी बेच्न युनाइटेड सहमत भएका छन् । जनवरी ट्रान्सफरको अन्तिम दिन युनाइटेड र शान्डोङ लुनेङबीच फेलानीको सरुवाका लागि १० मिलियन पाउण्डमा सहमति भएको अन्तराष्ट्रिय समचार संस्थाहरुले जनाएको छ ।
फेलानीले चिनियाँ क्लबसंग ३ वर्षे सम्झौता गर्ने बताईएको छ । यस्तै बेल्जियमका ३१ वर्षीय फेलानीले चिनियाँ क्लबसंग मेडिकल समेत गरिसकेको बताईएको छ ।
पछिल्लो समय क्लबको प्लेईङ सेटमा पर्न नसकिरहेका फेलानी २७ मिलियन पाउण्डमा सन् २०१३ मा एभर्टनबाट युनाइटेड आएका थिए ।
युनाइटेडमा साढे पाँच वर्ष बिताएका फेलानीले गत सिजन सन् २०२० सम्मको लागि क्लबसंग सम्झौता गरेका थिए । युनाइटेडमा अन्तरिम प्रशिक्षक ओले गुनार सोल्सायर आएपछि फेलानीले ३१ मिनेट मात्र खेल्न पाएका छन् ।
युनाइटेडबाट प्रिमियर लिगको १२२ खेलमा फेलानीले १२ गोल र २ गोलका लागि पास उपलब्ध गराएका छन् । उनले युनाइटेडका लागि सबैखाले प्रतियोगितामा १७७ खेल खेल्दै २२ गोल गरेका छन् ।