काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको पहिलो टी-ट्वान्टी क्रिकेटमा नेपाल पराजित भएको छ । बिहिबार भएको पहिलो खेलमा नेपाल युएईसंग २१ रनले पराजित भएको हो ।
दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा युएईले दिएको १५४ रनको लक्ष्य पछ्याएको नेपालले पुरै २० ओभरमा ७ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि डेब्यु खेलाडी सन्दीप जोराले अर्धशतकीय इनिङस खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । सन्दीप ५३ रनमा अविजित रहे ।
यस्तै नेपालका सोमपाल कामीले २७ तथा कप्तान पारसले २५ रन जोडे । नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । युएईका कप्तान मोहमद नाभिद, सुल्तान अहमेद र जाहोर खानले २/२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १५३ रन बनाएको थियो ।
युएईका लागि शाईमन अनवरले अर्धशतकीय इनिङस खेले । अनवरले ५९ रन जोडेर आउट भए । यस्तै मोहमद उस्मानले ३० रन जोड्दा सिपी रिजवानले २२ रन जोडे । मोहमद बोताले अविजित २० रन बनाउदा कप्तान मोहमद नाभिद १ रनमा पेभेलियन फर्किए ।
नेपालका सन्दीप लामिछाने र बसन्त रेग्मीले २/२ विकेट लिए । यस्तै डेब्यु खेलाडी अविनास बोहरा र सोमपाल कामीले १/१ विकेट लिए ।
यो जितसंगै युएईले नेपालविरुद्धको तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । अब नेपालले घरेलु टोलीविरुद्धको दोस्रो टी-ट्वान्टी खेल शुक्रबार खेल्नेछ । नेपालले तीन खेलको एकदिवसीय सिरिज भने २-१ ले जितिसकेको छ ।
Pic: The National UAE