काठमाडाै । दोस्रो संस्करणको मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको फाइनलमा मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् ।
इटहरी क्षेत्रीय रंगशालामा बिहिबार भएको दोस्रो सेमिफाइनलमा खेलमा पुलिसलाई हराउँदै मनाङले आर्मीसँगको भेट पक्का गरेको हो । फाइनल माघ १९ गते हुनेछ ।
मनाङले विभागीय नेपाल पुलिसलाई १–० गोल अन्तरले पराजित गर्याे । उसको जितमा एक मात्र निर्णायक गोल विदेशी खेलाडी ओलावाले आफिजले गरे । उनले पहिलो हाफको अन्तिम समयमा हेमन गुरुङको पास सदुपयोग गर्दै गोल गरे ।
योसँगै लिग विजेता मनाङले खप्तड गोल्डकपको क्वाटरफाइनमा ब्यहोरेको हारको बदला लिएको छ । बल पोजिसनमा मनाङले दबाब बनाएपनि विभागीय पुलिस क्लबको डिफेन्स लाइन भने तोड्न नसक्दा गोल बढाउन सकेन ।
खेलको २८ मिनेटमा मनाङका ओलावालेको पासमा विमल रानाको हेडिङ क्रसबार केहि माथीबाट बाहिरिएकाे थियो । खेलको ४१ मिनेटमा अन्जन विष्टको पासमा ओलावालेको हेड बल पोष्ट केहि माथीबाट बाहिरिएकाे थियो ।
खेलको ६३ मिनेटमा मनाङका विमल राना अग्रता दोब्बर बनाउन चुके । उनको प्रहार पुलिस डिफेन्डर सन्तोष हेमरुङले बाहिर फालिदिएका थिए।
यता, पुलिसले पाएको मौकाकाे सदुपयाेग गर्न सकेन । खेलको २४ मिनेटमा तेज तामाङले डिबक्स बाहिरबाट गरेको लामो प्रहार क्रसबार केहि माथीबाट बाहिरियो ।
खेलको २९ मिनेटमा पुलिसले गोल गर्ने सुनौलो अवसर चुकायो । तेज तामाङको पासमा अभिषेक रिजालको प्रहार मनाङ गोलकिपर विशाल श्रेष्ठले उत्कृष्ट पञ्च गरि बाहिर पठाए ।
खेलको ७७ मिनेटमा पुलिसका अभिषेक रिजाल र मनाङका विमल रानाबीच घम्साघम्सी परेपछि रेफ्री सुदिस पाण्डेले दुबैलाई पहेँलो कार्ड देखाएका थिए ।
खेलकेा म्यान अफ दि म्याच निर्णायक गोलकर्ता विदेशी खेलाडी ओलावाले आफिज भए ।
लिगपछि मनाङ मोफसल प्रतियोगितामा पहिलो पटक फाइनल प्रवेश गरेको हो । प्रतियोगितामा ८ क्लब सहभागि छन् । विजेताले १६ लाख र उपविजेताले ८ लाख रुपैयाँ प्राप्त गर्नेछ ।