काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) ले पहिलो टी-ट्वान्टी क्रिकेटमा नेपाललाई जितका लागि १५४ रनको लक्ष्य दिएको छ ।
दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १५३ रन बनायो ।
युएईका लागि शाईमन अनवरले अर्धशतकीय इनिङस खेले । अनवरले ५९ रन जोडेर आउट भए । यस्तै मोहमद उस्मानले ३० रन जोड्दा सिपी रिजवानले २२ रन जोडे । मोहमद बोताले अविजित २० रन बनाउदा कप्तान मोहमद नाभिद १ रनमा पेभेलियन फर्किए ।
नेपालका सन्दीप लामिछाने र बसन्त रेग्मीले २/२ विकेट लिए । यस्तै डेब्यु खेलाडी अविनास बोहरा र सोमपाल कामीले १/१ विकेट लिए ।
घरेलु टोलीविरुद्धको एकदिवसीय सिरिज जितेको नेपाल पहिलो टी-ट्वान्टी खेल जित्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । र, नेपाल टी-ट्वान्टी सिरिज जित्दै अर्को इतिहास रच्ने दाउमा छ ।
घरेलु टोलीसंगको सिरिज जिते नेपालले पहिलो पटक नै टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज समेत आफ्नो नाममा लेखाउनेछ । टी-ट्वान्टी विश्वकपमा प्रतिस्पर्धा गरिसकेको नेपालले अहिलेसम्म टी-ट्वान्टी सिरिज जित्न सकेको छैन । तर, यसपटक नेपालले अर्को इतिहास रच्ने मौका हुनेछ ।
नेपालले हालसम्म दुई टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज खेलिसकेको छ । तर, सिरिज जित्न सकेको छैन । बंगलादेशमा सम्पन्न सन् २०१४ को टी-ट्वान्टी विश्वकप खेलेको नेपालले त्यहिँ वर्ष हङकङसंग श्रीलंकामा पहिलो पटक ५ खेलको सिरिज खेलेको थियो । तर, उक्त सिरिजको चार खेल वर्षाको कारण रद्द भएको थियो । अन्तिम खेलमा भने नेपाल हङकङसंग २ विकेटले पराजित भएको थियो ।
यस्तै नेपालले सन् २०१५ मा नेदरल्याण्डविरुद्ध ४ खेलको टी-ट्वान्टी सिरिज खेलेको थियो । जसमा नेपालले सिरिज ३-१ ले गुमाएको थियो ।
त्यस्तै गत वर्ष नेपालले मेरिलेबन क्रिकेट क्लब (एमसीसी) र नेदरल्याण्डसंग त्रिकोणात्मक सिरीज खेलेको थियो । इंग्ल्यान्डको लर्ड्समा भएको उक्त सिरिजमा नेपाल र नेदरल्याण्डबीचको खेलले अन्तराष्ट्रिय मान्यता पाएको थियो । तर, उक्त खेल वर्षाको कारण रद्द भएको थियो ।