काठमाडौं । दोस्रो संस्करणको मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको दोस्रो सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र विभागीय टिम नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
इटहरी क्षेत्रीय रंगशालामा पहिलो हाफमा मनाङले एक गोलको अग्रता बनाएको छ ।
पहिलो हाफको अन्तिम समयमा मनाङका लागि विदेशी खेलाडी आफिज ओलावालेले गोल गरे । हेमन गुरुङले चलाखीपूर्ण ढंगले दिएको पासमा अफिजले गोल गरेको हुन् ।
दुबै टोली फाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रिएका छन् ।
पहिलो हाफमा दुबै टोलीले गोलको अवसर सिर्जना गरेपनि त्यसलाई सदुपयोग गर्न सकेका सकेनन् । बल पोजिसनमा मनाङले दबाब बनाएपनि विभागीय पुलिसले रक्षात्मक खेल प्रर्दशन गरेको थियो ।
खेलको २४ मिनेटमा पुलिसका तेज तामाङले डिबक्स बाहिरबाट गरेको लामो प्रहार क्रसबार केहि माथीबाट बाहिरियो । खेलको २९ मिनेटमा पुलिसले गोल गर्ने सुनौलो अवसर चुकायो । तेज तामाङको पासमा अभिषेक रिजालको प्रहार मनाङका गोलकिपर विशाल श्रेष्ठले पञ्च गरेर बाहिर फाँले ।
यता, खेलको २८ मिनेटमा मनाङका ओलावालेको पासमा विमल रानाको हेडिङ क्रसबार माथीबाट बाहिरियो । खेलको ४१ मिनेटमा अन्जन विष्टको पासमा ओलावालेको हेडिङ पोष्ट केहि माथीबाट बाहिरियो ।
लिग सकिएपछि मोफसलका प्रतियोगितामा दुवै टोली दोस्रो पटक भिड्न लागेका हुन् । दुवै टोली खप्तड गोल्डकपमा भिडेका थिए । सेमिफाईनलको खेलमा पुलिसले मनाङलाई १–० ले हराएको थियो । सो प्रतियोगिता पुलिसले जितेको थियो ।
सहिद स्मारक ए डिभिजन लिग विजेता भएको मनाङ मोफसलका प्रतियोगितामा फाइनल पुग्न सकेको छैन । लिगमा पुलिसले मनाङसँग १–० को हार ब्यहोरेको थियो ।
आजको विजेताले उपाधिका लागि माघ १९ गते त्रिभुवन आर्मीसँग खेल्नेछ ।
पहिलो सेमिफाइनलमा मेची नेत्रायल टे«निङ सेन्टरलाई ४–१ गोलले पराजित गर्दै आर्मी फाइनल प्रवेश गरेको थियो । प्रतियोगितामा ८ क्लब सहभागि छन् । विजेताले १६ लाख र उपविजेताले ८ लाख रुपैयाँ प्राप्त गर्नेछ ।