एजेन्सी । इङ्ग्लिश क्लब लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले हिउँको कारण लेष्टरविरुद्धको खेल कठिन बनेको बताएका छन् ।
प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा लिभरपुलले लेष्टर सिटीसंग १-१ गोलको बराबरी खेलेको थियो । बराबरीसंगै लिभरपुल शीर्ष स्थानको अग्रता फराकिलो बनाउनबाट चुकेको थियो ।
खेलपछि प्रशिक्षक क्लोपले हिमपातको कारण मैदानमा खेलाडीलाई खेल्न कठिन हुँदा जित निकाल्न नसकेको दाबी गरे ।
'तपाईले पनि देख्नु भयो । बल राम्रोसंग गुडेको थिएन,' क्लोपले भने, 'बल पोजिसनमा ७०-८० प्रतिशत रहन्छ भने त्यसले गार्हो बनाउने छ । मुख्य समस्या भनेको यदि हिउँ पिचमा रहन्छ । वास्तबमा हाम्रो मामला त्यहिँ हो ।'
लेष्टरविरुद्ध लिभरपुल सुरुवाती अग्रता बनाएपनि बराबरी खेल्दै अंक बाड्न बाध्य बनेको थियो ।
खेलको तेस्रो मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर, ४५ औं मिनेटमा ह्यारी मुगुएरेले गोल गर्दै लेष्टरलाई खेलमा फर्काएका थिए ।