काठमाडौं । सहिद स्मृति स्पोर्ट्स एकेडेमीको आयोजनामा प्रथम सहिद स्मृति खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ ।
जेठको दोस्रो साता सुरु हुने प्रतियोगितामा ४ वटा खेल समावेश गरिने आयोजकले जनाएको छ ।
जसमा सहिद स्मृति राष्ट्रिय रग्वी प्रतियोगिता, सहिद स्मृति खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता, सहिद स्मृति ब्याडमिन्टन प्रतियोगिता र सहिद स्मृति फुटसल प्रतियोगिता रहेका छन् ।
रग्वी र तेक्वान्दो काठमाडौंमा र ब्याडमिन्टन र फुटसल कोशी प्रदेशको झापा जिल्लामा सञ्चालन हुने आयोजक एकेडेमीका अध्यक्ष रन्जित तामाङले बताए ।
प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषदले सहयोग गर्नेछ । जेठ दोस्रो हप्ता सुरु हुने प्रतियोगिता अन्तिम सातासम्म समापन गरिने अध्यक्ष तामाङले बताए ।
खेलको समय कार्यतालिका, पुरस्कार, सहकार्य सम्झौता सहितको विस्तृत विवरण वैशाख अन्तिम साता पत्रकार सम्मेलनमार्फत जानकारी गराईने एकेडमीले विज्ञप्तिमार्फत जनाएको छ ।
