एजेन्सी । घरेलु टोली न्युजिल्याण्डविरुद्धको चौथो एकदिवसीय क्रिकेटमा भारत पराजित भएको छ । बिहिबार भएको खेलमा भारत न्युजिल्याण्डसंग ८ विकेटले पराजित भएको हो ।
ह्यामिल्टनमा रोहित शर्माको कप्तानीमा मैदान उत्रिएको भारतले दिएको ९३ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले १४ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
न्युजिल्याण्डको जितमा रोस टेलरले अविजित ३७ तथा हेनरी निकोल्सले अविजित ३० रन जोडे । भारतका भुवनेश्वर कुमारले २ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको भारतले ३० ओभर ५ बलमा अलआउट हुँदै ९२ रनमा समेटिएको थियो । न्युजिल्याण्डका बलर ट्रेन्ट बोल्ट चम्किएपछि भारत सस्तैमा समेटिएको थियो । बोल्ट एक्लैले ५ विकेट लिएपछि भारतका ७ ब्याट्सम्यानले दोहोरो रन बनाउन सकेनन् ।
नियमित कप्तान विराट कोहलीलाई विश्राम दिइएको खेलमा भारतका लागि युजभेन्द्र चाहलले अविजित १८ रन जोडे । यस्तै हार्दिक पाण्डयले १६, कुलदिप यादवले १५ र शिखर धवनले १३ रन जोडे ।
भारतलाई सस्तैमा समेट्न बोल्टले १० ओभर बलिङ गर्दै ४ मेडनसहित २१ रन खर्चेर ५ विकेट लिए । यस्तै कोलिन डी ग्राण्डहोमेले ३ विकेट लिए ।
चौथो खेलमा पराजित भएपनि सिरिज भने भारतले जितिसकेको छ । अन्तिम खेल बाँकी रहदा भारतले सिरिजमा ३-१ को अग्रता बनाएको छ । भारतले अघिल्ला ३ खेल जित्दै सिरिज आफ्नो बनाएको हो । अब दुईबीचको अन्तिम एकदिवसीय खेल शनिबार हुनेछ ।