काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) मा कुनै टिमले कीर्तिमान बनाएको छ भने त्यो हो, ललितपुर सिटी एफसी। लगातार दोस्रो संस्करणको उपाधि उचालेको यो टोलीले यसपल्ट कुनै खेलमा हार बेहोर्नै परेन।
लिग चरणका ६ खेलमा तीन जित हात पारेको यो टोलीले तीन नै बराबरी खेलेको थियो। १२ अंकसहित शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायरमा पुगेको ललितपुरले धनगढी एफसी र पोखरा थन्डर्सलाई हराउँदै उपाधि नै उचाल्यो। यो उपलब्धि आफैंमा विशेष रहेको कप्तान अनन्त तामाङ बताउँछन्।
‘यसपटक अपराजित रहेर उपाधि जित्नु विशेष रह्यो,’ उनी भन्छन्। एनएसएलको पहिलो संस्करण उनले चोटका कारण गुमाएका थिए। तर, अर्को संस्करणमा पुनरागमन गर्दै उनले ललितपुरलाई उपाधि मात्रै दिलाएनन् अघिल्लो संस्करणको चोटको पीडा पनि पुरे। उक्त संस्करण भने ललितपुरले कठिन स्थानमा रहेर इलिमिनेटमा स्थान बनाएको थियो।
लिग चरणका आठमध्ये दुई खेलमा जित र चार बराबरी खेल्दै ललितपुरले गोल संख्यामा झापा एफसी र बुटवल लुम्बिनी एफसीलाई पछि पार्दै इलिमिनेटमा स्थान बनाएको हो। त्यसयता ललितपुरले हारको पीडा कस्तो हुन्छ भोग्नु परेको छैन। त्यसैले त ललितपुरले लगातार ११ खेलसम्म अपराजित रहने गर्विलो कीर्तिमान बनाएको छ। यो कीर्तिमान तोड्न अब अन्य क्लबलाई कम्तिमा दुई सिजन कुर्नुपर्ने हुन्छ।
यो सबै उपलब्धिमा उनी त जोडिने नै भए। तर, विशेषगरी फाइनलमा पोखरालाई २–१ ले हराउँदै उपाधि रक्षा गर्न टोलीले नयाँ प्रशिक्षकको नेतृत्वमा निकै मिहिनेत गरेको अनन्त स्वीकार्छन्। ललितपुरले यस संस्करणमा इङ्लिस प्रशिक्षक साइमन ग्रेसनलाई अनुबन्ध गरेको थियो।
उनी लिड्स युनाइटेडका पूर्वप्रशिक्षकसमेत हुन्। युएएफएका प्रो–लाइसेन्सधरी साइमनले लिड्सलाई इङ्लिस लिगको दोस्रो डिभिजन च्याम्यिनसिपमा छनोट गराएका थिए। त्यतिमात्रै होइन, लिड्ससहित हुडर्सफिल्ड टाउन र प्रेस्टन नर्थलाई समेत प्रशिक्षकको रुपमा च्याम्पियनसिपमा उकाले।
पछिल्लो समय इन्डियन सुपर लिगमा बैंग्लुरु एफसीलाई सम्हाल्दै आएका थिए। उनको नेतृत्वमा बैंग्लुरुले डुरान्ड कप जितेको थियो भने इन्डियन सुपर लिग र सुपर कपको फाइनल खेलेको थियो। त्यो सफलता उनले नेपालमा पनि दोहर्याउन सफल भए।
‘टिमको नेतृत्व मैले गरेको भएपनि यसमा मेरा सहकर्मी, प्रशिक्षण तथा व्यवस्थापन टोलीको समान साथ र सहयोग छ। म टिमले विश्वास गरेको एक प्रतिनिधि मात्र हुँ । फुटबल टिम गेम हो, र यो टिम मैदानमा उत्रने ११ खेलाडी मात्र होइन, मैदानबाहिर फरक फरक भूमिकामा काम गर्ने सम्पूर्णको सामूहिक प्रयासले सफल हुन्छ,’ अनन्त भन्छन्।