एजेन्सी । पाकिस्तानविरुद्धको पाँच खेलको एकदिवसीय सिरिज घरेलु टोली दक्षिण अफ्रीकाले जितेको छ । बुधबार राति भएको पाँचौ तथा अन्तिम एकदिवसीयमा पाकिस्तानलाई ७ विकेटले हराएर दक्षिण अफ्रीकाले सिरिज ३-२ ले जितेको हो ।
केप टाउनमा पाकिस्तानले दिएको २४१ रनको लक्ष्य दक्षिण अफ्रीकाले ४० ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । क्विनटन डी ककले ८३ रनको योगदान गरे । यस्तै फाप डु प्लेसिस र भान डेर डुसेनले अविजित ५०/५० रन जोडे । पाकिस्तानका उस्मान सिनवारी,शाहिन अफ्रिदी र मोहमद अमीरले समान १/१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभर खेल्दै ८ विकेट गुमाएर २४० रन जोडेको थियो ।पाकिस्तानका लागि फखर जमानले ७० रनको अर्धशतकीय इनिङस खेल्दा इमाद वासिमले अविजित ४७ रन जोडे । दक्षिण अफ्रीकाका एडिले लक्की र ड्वाने प्रेट्रोरिओसले २/२ विकेट लिए ।
अब दक्षिण अफ्रीका र पाकिस्तानले ३ खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।