काठमाडौं। दोस्रो उपत्यकाव्यापी अन्तरपालिका गोदावरी मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु हुने भएको छ। गोदावरी नगरपालिकाको आयोजनामा वडा नं १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित गोदावरी बहुउद्देश्यीय रंगशालामा हुने प्रतियोगितामा उपत्यकाभित्रका विभिन्न पालिकाका टिमले प्रतिस्पर्धा गर्नेछन्।
काठमाडौं उपत्यकामा रहेका २१ पालिकामध्ये हालसम्म आयोजक गोदावरीसहित ११ वटा पालिकाले भाग लिने टुङ्गो लागेको गोदावरी नगरपालिकाका खेलकुद संयोजक एवं वडा नम्बर १४ का वडाअध्यक्ष निरोज बज्राचार्यले जानकारी दिए। उनले मंगलबारसम्ममा भाग लिने टोलीको अन्तिम टुङ्गो लागिसक्ने बताए।
अहिलेसम्म काठमाडौं जिल्लाका काठमाडौं महानगरपालिकासहित कीर्तिपुर नगरपालिका, चन्द्रागिरी नगरपालिका, दक्षिणकाली नगरपालिका र तारकेश्वर नगरपालिकाले खेल्ने निश्चित भएको छ। यसैगरी ललितपुर जिल्लाका आयोजक गोदावरीसहित ललितपुर महानगरपालिका , महालक्ष्मी नगरपालिका , बागमती गाउँपालिका र कोन्ज्योसोम गाउँपालिकाको टुंगो लागेको छ।
यसैगरी भक्तपुर जिल्लाबाट चाँगुनारायण नगरपालिकाले सहभागीता जनाउने निश्चित भइसकेको छ। अघिल्लो संस्करणमा सहभागी भएको नागार्जुन नगरपालिकासँगै शंकरापुर नगरपालिका र महांकाल गाउँपालिकाले प्रतियोगितामा सहभागी नहुने भएका छन्।
प्रतियोगिताको विजेता टिमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपैयाँसहित ट्रफि पुरस्कार प्रदान गरिने नगरपालिकाका प्रवक्ता मिलन सिलवालले जानकारी दिए। उनका अनुसार अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर , फर्वाड, सर्बाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ।