काठमाडौं। पोखरा थन्डर्सका कप्तान आयुष घलान नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।
उनले आफ्नो कप्तानीमा पोखरालाई पहिलोपल्ट फाइनल पुर्याएका थिए। तर, फाइनलमा पोखरा २–१ ले पराजित हुँदै उपविजेतामा सीमित भयो। यद्यपि, २१ वर्षीय विंगर आयुषले पोखरालाई फाइनलमा पुर्याउन कप्तानी जिम्मेवारीमात्रै सम्हालेनन् एक गोलसम्म गरे।
उनले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गरे। आयुष पहिलो संस्करणमा ट्यालेन्ट हन्टमार्फत पोखरामा अनुबन्ध भएका थिए। उक्त संस्करणमा प्रभावशाली प्रदर्शन गरेसँगै उनले आफ्नो करियरमा पछाडि फर्किएर हेर्न परेको छैन।
सोही संस्करणबाट नेपाली राष्ट्रिय फुटबल टोलीमा पुगेका उनले त्यसयताका दुई संस्करण पोखरामा नै बिताएका छन्। दोस्रो संस्करणमा पोखरालाई प्लेअफसम्म पुर्याउँदा उनी मार्की प्लेयर थिए।
यसपल्ट भने उनले कप्तानीमा जिम्मेवारी सम्हालेका हुन्। तर, ललितपुरका दुई विदेशी इमो इजिकेल र पापा इबु केबको प्रभाशाली प्रदर्शनसामु उपाधि भने दिलाउन सकेन।
ललितपुरलाई जित दिलाउन इजिकेलले यसपल्ट पनि उत्कृष्ट प्रदर्शन गरे। उनले एक गोल र एक असिस्ट गरे। ललितपुरलाई गत संस्करणको उपाधि दिलाउँदा पनि उनले धनगढी एफसीविरुद्धको फाइनलमा दुई गोल गरेका थिए।
ललितपुर र पोखरा दुवैले धनगढीको चुनौती पार गर्दै यस संस्करणको फाइनलमा भेट पक्का गरेका हुन्। तर, बाजी भने अपराजित रहँदै ललितपुरले मार्यो।
अर्कोतर्फ गैरआवासीय नेपाली संघ (एनआरएनए) कोटामा टोलीमा भित्रिएका सुदील राईले गरेको गोल पनि पोखरालाई पर्याप्त हुन सकेन।