एजेन्सी । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको क्वाटरफाईनलको दोस्रो लेगमा सेभियालाई ६-१ गोलको फराकिलो अन्तरले हराउँदै बार्सिलोनाले अन्तिम चारको यात्रा तय गरेको हो ।
घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन फिलिपे कौटिन्होले २ गोल गरे । यस्तै कप्तान लियोनल मेस्सी, लुइस स्वारेज,सेर्गी रोबर्टो र इभान राकिटिकले एक एक गोल गरे । सेभियाका गुइल्हेर्मे अरनाले एक गोल फर्काए ।
जितसंगै बार्सिलोनाले समग्रमा ६-३ को जितसहित सेमिफाइनलमा स्थान बनाएको हो । पहिलो लेगमा सेभियाले बार्सिलोनालाई २-० गोल अन्तरले हराएको थियो ।
दोस्रो लेगमा पुनरागमन गर्ने क्रममा बार्सिलोनाले एकतर्फी जित निकाल्यो । खेलको १३ औं मिनेटमा कौटिन्होले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । खेलको २७ औं मिनेटमा इभर बेनेगाले पेनाल्टीमा गोल गर्न नसक्दा सेभियाले खेल बराबरी गर्ने मौका गुमायो । ३१ औं मिनेटमा राकिटिकले गोल गर्दै बार्सिलोनाको अग्रता २-० को बनाए ।
दोस्रो हाफमा बार्सिलोनाले थप ४ गोल गर्यो । खेलको ५३ औं मिनेटमा कौटिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता ३- ० को बनाए । खेलको ५४ औं मिनटमा रोबर्टोले गोल गर्दा बार्सिलोनाको अग्रता ४-० को बन्यो । खेलको ६७ औं मिनेटमा सेभियाका गुइल्हेर्मेले गोल गर्दै खेल ४-१ को बनाए ।
यस्तै खेलको ८९ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई ५-१ को अग्रता दिलाए । त्यसपछि खेलको ९० औं मिनेटमा मेस्सीले गोल गरेपछि बार्सिलोनाले ६-१ को फराकिलो जित निकाल्यो ।