काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) अब फाइनल मोडमा आइपुगेको छ। जहाँ एक टोली विजेता हुनेछन् भने अर्को टोली उपविजेता।
यसैको टुंगो लगाउन त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे दुई टोली भिड्दैछन्, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स।
साबिक विजेतासमेत रहेको ललितपुरले पहिलो क्वालिफायरमा धनगढी एफसीलाई २–१ ले पराजित गर्दै फाइनलमा सिधैं स्थान बनाएको हो।
यसपल्ट पोखरालाई ललितपुरसँग गत संस्करणको दोस्रो क्वालिफायरमा बेहोरेको हारको बदला लिने मौका जुरेको छ। उक्त खेलको अतिरिक्त समय अर्थात ९८औं मिनेटमा कुशल देउवाले गोल गर्दै ललितपुरलाई फाइनलमा पुर्याएका थिए।
त्यसअघि दुवै टोली १–१ को स्थितिमा थिए। उक्त संस्करण लिगको शीर्ष स्थानमा रहेर फाइनल पुगे पनि पोखरालाई यो संस्करण केही कठिन भएको थियो।
पहिलो दुई खेलमा चितवनसँग २–० र ललितपुरसँग ३–२ ले हार बेहोरेको पोखराले त्यसपछि भने पुनरागमन गर्न सफल भएको हो।
त्यसपछिका चारमध्ये दुई खेलमा जित र दुईमा बराबरी खेल्दै पोखराले चौथो स्थानमा रहेर प्लेअफको यात्रा तय गरेको थियो।
ललितपुर भने जारी प्रतियोगितामा अपराजित रहने एक मात्रै टोली हो।