एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुल बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा लिभरपुल लेष्टर सिटीसंग १-१ गोलको बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा लिभरपुलले लेष्टरसंग अंक बाडेको हो । पहिलो हाफको तेस्रो मिनेटमा साडियो मानेको गोलबाट लिभरपुलले सुरुवाती अग्रता बनाएको थियो ।
तर, खेलको ४५ औं मिनेटमा लेष्टरका ह्यारी मागुइरेले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल १-१ को बराबरीमा सकियो ।
यो बराबरीसंगै लिभरपुलले शीर्ष स्थानको अग्रता फराकिलो बनाउने मौका गुमाएको छ । बराबरीपछि लिभरपुलले २४ खेलबाट ६१ अंक जोडेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा ५ अंकले अघि छ । सिटीको ५६ अंक छ ।
लेष्टर सिटी ३२ अंकसहित ११ औं स्थानमा छ ।