काठमाडौं। रियल मड्रिड कोपा डेल रे फाइनलअघि संकटमा परेको छ। डिफेन्डर डेभिड अलाबा र मिडफिल्डर एडुआर्डो क्यामाभिङ्गा दुवै घाइते भएपछि शनिबार बार्सिलोनाविरुद्धको फाइनल खेल्ने सम्भावना न्यून देखिएको छ।
गेटाफेविरुद्ध बुधबार सम्पन्न खेलमा तुर्कीका मिडफिल्डर अआर्दा गुलरले गोल गर्दै रियललाई १–० को जित दिलाएका थिए। योसँगै उनले क्लबलाई लिग उपाधि होडमा राख्न सफल भएका छन्।
मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी पहिले नै किलियन एमबाप्पे र फेर्लान मेन्डीबिना खेल्दै आएका छन्। अब अलाबा र क्यामाभिङ्गाको घाइते भएपछि टोलीको रक्षापंक्ति थप कमजोर बन्ने देखिन्छ।
‘हामी भोलिसम्म मेडिकल रिपोर्ट पर्खिरहेका छौं। तर, दुवैले खुट्टामा मांसपेशी चोट बोकेका छन्। फाइनल खेल्न सक्ने सम्भावना निकै कम देखिन्छ,’ एन्सेलोट्टीले खेलपछि भने।
मेन्डी, अलाबा र क्यामाभिङ्गा अनुपस्थित हुने सम्भावनालाई मध्यनजर गर्दै उनले फ्रान गार्सियालाई लेफ्ट ब्याकमा उतारिने अनुमान गरिएको छ। उनले बार्सिलोनाका १७ वर्षीय स्टार लमिन यमललाई रोक्ने मुख्य जिम्मेवारी पाउनेछन्।
बार्सिलोना हाल ला लिगाको शीर्ष स्थानमा छ, ७६ अंकसहित रियलभन्दा चार अंकले अगाडि। बार्सिलोनाले यस सिजनमा पहिले नै रियलविरुद्ध ठूला जित दर्ता गरिसकेको छ। अक्टोबरमा स्यान्टियागो बर्नाबेउमा ४–० र जनवरीमा स्पेनी सुपर कपको फाइनलमा ५–२ ले हराएको थियो।
‘उत्कृष्ट को हो भन्न सकिएला, तर फाइनल भनेको फाइनल नै हो। जहाँ जे पनि हुन सक्छ,’ एन्सेलोट्टीले भने।