काठमाडौं। नेपाल एएफसी यु–२० महिला एसियन कप छनोटमा ‘पोट’ २ मा परेको छ।
एसियाली फुटबल महासंघ (एएफसी)का अनुसार औपचारिक ‘ड्र’ भने २८ अप्रिलमा मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउस हुनेछ। नेपाल रहेको ‘पोट’ मा चाइनिज ताइपेइ, इरान, किर्गिस्तान, लेबनान, भारत, जोर्डन र बंगलादेश छन्।
यो प्रतियोगिता सन् २०२१ सम्म एएफसी यु–१९ महिला एसियन कपको नाममा हुँदै आएको थियो। २०२२ देखि भने एएफसी यु–२० महिला एसियन कपमा गर्न लागिएको हो।
अगस्ट २ देखि १० सम्म हुने छनोटमा २३ राष्ट्र सहभागी हुनेछन्। ‘ड्र’ मार्फत आठ समूह विभाजन गरिने छ। सात समूहमा चार/चार टोली हुनेछन्। एक समूहमा भने पाँच टोली हुनेछ।
छनोट चरणका खेलहरू भुटान, चीन, लाओस, मलेसिया, म्यानमार, ताजिकिस्तान, उज्बेकिस्तान र भियतनाममा हुनेछ। हरेक समूहका विजेता अर्थात आठ टोली र तीन उत्कृष्ट टोलीले १ देखि १८ अप्रिल, २०२६ सम्म थाइल्यान्डमा हुने प्रतियोगितामा स्थान बनाउने छन्।
सहभागी टोलीलाई पाँच वटा ‘पोट’मा राखिएको छ। आयोजक राष्ट्रलाई भने छुट्टै ‘पोट’मा छन्।