काठमाडौं। रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले स्ट्राइकर किलियन एमबाप्पे चोटबाट निको हुँदै शनिबार बार्सिलोनाविरुद्धको कोपा डेल रे फाइनल खेल्न तयार हुने विश्वास व्यक्त गरेका छन्।
फ्रेन्च स्टार एमबाप्पेले आइतबार एथ्लेटिक बिल्बाओविरुद्धको ला लिगा खेल गुमाएका थिए। बुधबार गेटाफेविरुद्धको खेलमा पनि उनी अनुपस्थित रहनेछन्। गत साता च्याम्पियन्स लिगमा आर्सनलविरुद्धको हारको क्रममा उनी घाइते भएका थिए।
तर, उनी र उनकै राष्ट्रिय टोलीका डिफेन्डर फरल्यान्ड मेन्डी शनिबारको ‘एल क्लासिको’का लागि फिट हुने सम्भावना देखिएको छ। ‘आजका खेलका लागि उनीहरू तयार हुने छैनन्, तर मलाई लाग्छ कि शनिबारको खेलका लागि उपलब्ध हुनेछन्,’ एन्सेलोटीले भने।
स्यान्टियागो बर्नाबेउमा एथ्लेटिकविरुद्धको १–० को जितका क्रममा एमबाप्पेको तस्बिर स्क्रिनमा देखिएपछि केही समर्थकले उनविरुद्ध हुटिङ गरेका थिए। उक्त जितले रियललाई शीर्ष स्थानको बार्सिलोनासँगको दूरी चार अंकमा सीमित राख्न सहयोग गरेको थियो। तर, बार्सिलोनाले फेरि अंक दूरी सातमा पुर्याइसकेको छ।
‘एमबाप्पे दुखी छन् किनभने उनी घाइते भएका छन्, टिमलाई सहयोग गर्न सकिरहेका छैनन्। उनी शनिबारको लागि फिट हुन सक्दो प्रयास गरिरहेका छन्,’ एन्सेलोटीले थपे।
एमबाप्पे यो सिजन रियलका लागि ३३ गोलसहित शीर्ष स्कोरर हुन्। तर, उनको अनुपस्थितिमा रियलले थप एक मिडफिल्डर प्रयोग गरेर एथ्लेटिकविरुद्धको खेलमा रक्षात्मक रूपमा बलियो प्रदर्शन गर्यो।
‘हामीले यो सिजन भोगेका समस्याहरू प्रष्ट छन्। हामीले केही हदसम्म खेल्ने शैली परिवर्तन गरेका छौं, किनभने हामीसँग फरक विशेषता भएका खेलाडी छन्,’ उनले भने।