काठमाडौं। ब्राजिलका पूर्वप्रशिक्षक एडेनोर लियोनार्डो बाची उर्फ टिटेले मानसिक र शारीरिक स्वास्थ्य समस्याका कारण अनिश्चितकालका लागि आफ्नो पेशागत करिअरबाट विश्राम लिने निर्णय गरेका छन्।
६३ वर्षीय टिटेले आफ्नो पुरानो क्लब कोरिन्थियन्ससँग सम्झौता गर्ने अपेक्षा गरिएको थियो। उनले यसअघि सोही क्लबलाई सन् २०१२ को कोपा लिबर्टाडोरेस र क्लब विश्वकप जिताएका थिए।
स्थानीय सञ्चारमाध्यमका अनुसार टिटेलाई रियो दि जेनेरियोबाट साओ पाउलो उड्नुअघि रातभरि एन्जाइटीको समास्या देखिएको थियो। उनी अहिले रियोमै बसोबास गर्दै आएका छन्।
‘मानिस भएर म पनि कहिलेकाहीँ कमजोर हुन सक्छु भन्ने कुरा बुझ्नुपर्छ। यो स्वीकार गर्नु आफैँमा मलाई अझ बलियो बनाउँछ,’ टिटेले भने। उनले सन् २०१६ देखि २०२२ सम्म ब्राजिल राष्ट्रिय टोलीको प्रशिक्षण सम्हालेका थिए।
‘म मेरो कामलाई माया गर्छु र यो जारी राख्न चाहन्छु। तर, जब मैले मेरो परिवारसँग कुरा गरें र मेरो शरीरले दिने संकेतहरू महसुस गरें, तब मैले अहिले आफैंको हेरचाह गर्नु नै सबैभन्दा सही निर्णय हो भन्ने ठानें। कोरिन्थियन्ससँग कुराकानी भइरहेकै थियो, तर अहिले त्यो रोक्नु पर्नेछ। यो कठिन तर आवश्यक निर्णय हो,’ उनले भने।
टिटेलाई फ्लामेंगोले गत वर्ष सेप्टेम्बर ३० मा बर्खास्त गरेको थियो। उनी उक्त क्लबमा एक वर्ष पनि बस्न सकेनन्। त्यसयता उनले कुनै टोली सम्हालेका छैनन्।
कोरिन्थियन्सले गत साता प्रशिक्षक रामोन डियाजलाई बर्खास्त गरेपछि टिटेसँग सम्झौताको नजिक पुगेको जानकारी दिएको थियो। क्लबका अनुसार टिटेले मंगलबार सम्झौता गरी टोली सम्हाल्ने तयारीमा थिए। तर, अब त्यो प्रक्रिया स्थगित भएको छ।