काठमाडौं। ललितपुर सिटी एफसीका सेन्ट्रल ब्याक पापे डिकेटले नेपाल सुपर लिग (एनएसएल)को फाइनल गुमाउने भएका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गत शनिबार सम्पन्न पहिलो क्वालिफायरमा साबिक उपविजेता धनगढी एफसीविरुद्ध २–१ को जित निकाल्दै ललितपुर लगातार दोस्रोपल्ट फाइनलमा प्रवेश गरेको थियो।
तर, उक्त खेलमा मिडफिल्डर मणिकुमार लामा र पापेले रातो कार्ड पाएका थिए। मुख्य रेफ्री उमेश बिडारीको निर्णयप्रति ललितपुरले अपिल गरेको थियो।
खेलको १६औं मिनेटमा मणिले पाएको रातो कार्डमा रेफ्रीको निर्णय गलत भएको भन्दै एनएसएल आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)ले मंगलबार स्विकार गरिसकेको छ।
त्यसैले आयोजक र अपिल समितिले मणि निर्दोष ठहर गर्दै फाइनल खेल्न योग्य रहेको पत्र ललितपुरलाई पठाइसकेको छ। तर, खेल सकिएपछि सेनेगलका पापेले पाएको कार्ड भने उचित रहेको दुई समितिले ठहर गरेको छ।
‘उपलब्ध भिडियो प्रमाण र रेफ्रीको रिपोर्टको आधारमा समीक्षा गर्दा पापेले मोहम्मद अल जउलानी र पछि जर्गे काइसेडोमाथि देखाएको व्यवहार आक्रामक प्रकृतिको मानिएको छ। उनको उक्त कार्यले दोस्रो पहेँलो कार्ड दिन उचित थियो। त्यसैले गर्दा उनलाई दिइएको रातो कार्ड उचित ठहरिएको छ,’ ललितपुरलाई एनएसइएमले पठाएको पत्रमा भनिएको छ।
पापेलाई ५१औं मिनेटमा पहिलो पहेँलो कार्ड देखाइएको थियो। अर्को कार्ड भने खेल सकिएपछि देखाइएको थियो। योसँगै उनले रातो कार्ड पाएका थिए।
बुधबार दोस्रो क्वालिफायरमा धनगढीले पोखरा थन्डर्ससँग खेल्दैछ। विजेताले ललितपुरसँग उपाधिका लागि खेल्ने छ।