एजेन्सी । भारतीय क्रिकेट कप्तान विराट कोहली एकदिवसीय क्रिकेटको ब्याट्सम्यानतर्फको नयाँ वरियतामा शीर्ष स्थानमा यथावत रहन सफल भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सोमबार निकालेको नयाँ वरियतामा कोहली शीर्ष स्थानमा कायम रहेका हुन् ।
आईसीसीले निकालेको नयाँ वरियतामा कोहलीले ९०९ अंक प्राप्त गरेका छन् । कोहलीले पाकिस्तानी ब्याट्सम्यान बाबर अजमलाई पछि पार्दै शीर्ष स्थानमा कायम रहेका हुन् । वरियताको दोस्रो स्थानमा रहेका अजमले ८१३ अंक प्राप्त गरेका छन् । यस्तै वरियताको तेस्रो स्थानमा ८०३ अंक जोडेका अष्ट्रेलियाका डेभिड वार्नर, ७९९ अंकसहित भारतका रोहित शर्मा चौथो र पाँचौ स्थानमा रहेका न्युजिल्यान्डका ब्याट्सम्यान रोस टेलरले ७८५ अंक पाएका छन् ।
नयाँ वरियतामा इंग्ल्यान्डका जोय रुट्स, दक्षिण अफ्रिकाका क्विनटन डी कक, अफ्रिकाकै फाफ डु प्लेसिस,न्युजिल्यान्डका केन विलियमसन र भारतका शिखर धवन छैटौंबाट क्रमश दशौं स्थानमा रहेका छन् ।
एक दिवसीय क्रिकेटको बलिङतर्फ भारतका जस्प्रित बुम्राह शीर्ष स्थानमा यथावत रहेका छन् । उनले ७८७ अंक पाएका छन् । बलिङतर्फ दोस्रो स्थानमा रहेका अफगानिस्तानका रासिद खानले ७६३ अंक जोडेका छन् भने पाकिस्तानका हसन अली ७७१ अंकसहित तेस्रो स्थानमा छन् । न्युजिल्यान्डका ट्रेन्ड बोल्ट चौथो र अष्ट्रेलियाका जोस हाजलवुड पाँचौ स्थानमा रहेका छन् ।
आईसीसीले निकालेको नयाँ वरियताको अलराउण्डरतर्फ बंगलादेशका शकिब अल हसन शीर्ष स्थानमा रहदा पाकिस्तानका मोहमद हाफिज दोस्रो स्थानमा छन् । त्यस्तै अफगानिस्तानका मोहमद नाबी तेस्रो, न्युजिल्यान्डका मिचेल स्टाननर चौथो इंग्ल्यान्डका मोइन अली पाँचौ स्थानमा रहेका छन् ।