काठमाडौं। पेरिस सेन्ट–जर्मेन (पिएसजी)विरुद्धको च्याम्पियन्स लिग क्वार्टरफाइनलको दोस्रो लेगमा साहसी प्रयास गर्दागर्दै बाहिरिएको एस्टन भिल्लाले सोही प्रतियोगितामा फर्किने सम्भावना बलियो बनाएको छ।
न्युक्यासलमाथि शनिबार ४–१ को प्रभावशाली जित निकाल्दै अर्को सिजन युरोपका ठूला क्लब प्रतियोगितामा फर्कने लक्ष्यलाई पुनः बलियो बनाएको हो। भिल्लाका ओली वाटकिन्स प्रेरणाको स्रोत बने।
उनले खेलको पहिलो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाए। फाबियन शारले बराबरी गरेपछि इयान माट्सेनको गोलका लागि पास पनि उपलब्ध गराए। ड्यान बर्नको आत्मघाती गोल र अमाडु ओनानाको जबरदस्त प्रहारले भिल्लाको ठूलो जितलाई पक्का बनायो।
यस जितसँगै भिल्ला प्रिमियर लिगको छैठौं स्थानमा उक्लिएको छ। लगातार पाँचौं लिग खेल जितेको भिल्ला अब तेस्रो स्थानको न्युक्यासलभन्दा केवल दुई अंकले पछाडि छ।
शीर्ष पाँच टोलीले च्याम्पियन्स लिगमा आफ्नो सुनिश्चित गर्नेछन्। त्यसैले यो दौड निकै रोमाञ्चक बन्दै गएको छ। चौथो स्थानको म्यानचेस्टर सिटीको घरेलु मैदानमा मंगलबार निर्णायक खेल खेल्न लागिरहेको भिल्लाको अहिले पाँचौं स्थानमा रहेको नटिङ्घम फरेस्टसँग समान अंकमा छ, जसले सोमबार टोटनह्यामसँग खेल्नेछ।
न्युक्यासलका प्रशिक्षक एडी होउ निमोनियाका कारण अझै अनुपस्थित छन्। त्यसैले जेसन टिन्डलले टोलीको नेतृत्व गरेका थिए। होउको अनुपस्थितिमा पहिलो दुई खेल जितेको न्युक्यासल यो पटक भने असफल रह्यो।
भिल्लाका प्रशिक्षक उनाई एमरीले आफ्ना समर्थकलाई पिएसजीविरुद्धको जस्तै ऊर्जावान वातावरण बनाइदिन आग्रह गरेका थिए। खेल सुरु भएको ३३ सेकेन्डमै स्टेडियम गुञ्जायमान बन्यो।