काठमाडौं। बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई)ले सहायक प्रशिक्षक अभिषेक नायरलाई निकालेको छ। उनी नियुक्त भएको एक वर्ष पनि भएको थिएन।
नायरलाई गत वर्ष जुलाईमा गौतम गम्भीरको कोचिङ स्टाफमा समावेश गरिएको थियो। घरेलु मैदानमा टेस्ट क्रिकेटमा न्युजिल्यान्डसँग भारत ३-० ले पराजित भएको थियो। त्यसपछि अस्ट्रेलियामा भएको बोर्डर गावस्कर ट्रफीमा ३-१ ले पराजित भएपछि बिसिसिआईले समीक्षा बैठक गरेको थियो। त्यसपश्चात् नायरलाई निकालिएको हो।
यस बैठकमा बिसिसिआई सचिव देवजित सैकियाबाहेक मुख्य प्रशिक्षक गौतम गम्भीर, टेस्ट र एकदिवसीय कप्तान रोहित शर्मा र प्रमुख छनोटकर्ता अजित आगरकर उपस्थित थिए।
मुम्बईका अलराउन्डर नायरले भारतका लागि तीन एकदिवसीय खेल खेलेका छन्। उनी कोलकाता नाइट राइडर्समा गम्भीरको सहायक प्रशिक्षक पनि रहेका थिए। टोलीले २०२४ मा आइपिएल उपाधि जितेको थियो।
नायरले कहिल्यै घरेलु क्रिकेटको प्रशिक्षण लिएका छैनन्। तर, रोहित, दिनेश कार्तिक, श्रेयस अय्यर, वेंकटेश अय्यर र अंगकृष रघुवंशीजस्ता धेरै अन्तर्राष्ट्रिय र युवा खेलाडीसँग काम गरेका छन् ।
हालै केएल राहुलले नायरलाई आफ्नो सेतो बल सफलताको श्रेय दिएका थिए। जनवरीमा नै बिसिसिआईले पूर्वब्याट्सम्यान सितांशु कोटकलाई टोलीको ब्याटिङ प्रशिक्षक नियुक्त गर्दा नायरको भविष्यमाथि प्रश्न उठेको थियो।