काठमाडौं। कप्तान ऋषभ पन्तको अर्धशतकसँगै लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सलाई १६७ रनको मध्यम लक्ष्य दिएको छ।
भारतरत्न श्री अटल बिहारी क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोलीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६६ रनको योगफल तयार गरेको हो।
लखनऊका कप्तान ऋषभले सर्वाधिक ६३ रन बनाए। उनले ४९ बलमा चार चौका र चार छक्का प्रहार गरे। मिचेल मार्शले २५ बलमा समान दुई चौका र छक्कासहित ३० रन बनाए। आयुष बडोनी २२ र अब्दुल समाद २० रनमा भए।
चेन्नईका रवीन्द्र जडेजा र मथिशा पाथिरानाले समान दुई विकेट लिए। खलिल अहमद र अन्सुल काम्बोजको नाममा एक/एक विकेट रह्यो।