काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको उद्घाटन खेलमा भारत र पाकिस्तानबीचको खेल गराउने बताएकी छिन् ।
धुर्मुस सुन्तली फाउण्डेशनले बुधबार गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला घोषणा कार्यक्रममा बोल्दै मेयर दाहालले पहिलो खेल भारत र पाकिस्तानबीच हुने बताएकी हुन् । फाउण्डेशनले बुधबार गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनमा निर्माण गर्ने घोषणा गरेको थियो ।
'२० बिघा जमिन खोज्न धेरै चुनौती थियो । तर, हामीले जग्गा दिन तयार भएका छौं । यस महान कार्यलाई सफल बनाउन काधमा काध जोडेर सहयोग गर्नेछौं । रंगशाला २ बर्षभित्र रंगशाला तयार गरेर पहिलो खेल भारत र पाकिस्तानबीच खेल गराउने छौ,' कार्यक्रममा दाहालले भनिन् ।
यस्तै मेयर दाहालले भारत र पाकिस्तानबीच सम्बन्ध राम्रो नरहेको र एक अर्काको देशमा गएर क्रिकेट खेल्ने अवस्था नरहेको कारण नेपाल दुवैको लागि उपयुक्त ठाउ हुने बताईन् ।
रंगशाला भरतपुर महानगरपालिकाले उपलब्ध गराएको जग्गामा निर्माण गरिनेछ । त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा भरतपुर–१६ मा रहेको कृषि तथा वन विश्वविद्यालयको जग्गामा रंगशाला निर्माण हुनेछ ।
रंगशाला निर्माणको लागि फाउण्डेशनले महानगरपालिकासंग बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । नगरपालिकाका मेयर रेणु दाहाल र फाउण्डेशनका सिताराम कट्टेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।