काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेशनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेको छ । फाउण्डेशनले बुधबार एक कार्यक्रमको आयोजना गर्दै गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनमा निर्माण गर्ने घोषणा गरेको हो ।
हास्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेको फाउण्डेशनले रंगशाला चितवनको भरतपुरमा निर्माण गर्ने जनाएको छ । रंगशाला भरतपुर महानगरपालिकाले उपलब्ध गराएको जग्गामा निर्माण गरिनेछ ।
त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा भरतपुर–१६ मा रहेको कृषि तथा वन विश्वविद्यालयको जग्गामा रंगशाला निर्माण हुनेछ । डीपीआर तयार भएको २ वर्षभित्र निर्माण सम्पन्न हुने रंगशाला निर्माणको लागि ३ अर्ब लाग्ने बताईएको छ ।रंगशालाको डीपीआर ६ महिनाभित्र तयार हुनेछ ।
भरतपुर नगरपालिकाले उपलब्ध गराएको २० बिघाहा ६ कठ्ठा क्षेत्रफलमा रंगशाला नेपालको मौलिकता झल्कने गरि कमलको फुलको आकारमा निर्माण गरिनेछ । २५ हजार दर्शक क्षमताको रंगशालामा ४ गेट रहने छ । मुख्य गेटको डिजाइन स्तुपा रहनेछ ।
रंगशालासंगै अभ्यासका लागि २ छुट्टै अभ्यास मैदान समेत हुनेछ । यस्तै क्रिकेट एकेडमीसहितको बन्न लागेको रंगशाला परिसरमा फुटबल, स्विमिङ, बास्केटबल, भलिबल, डण्डीबियो लगायतका खेलको मैदान समेत बन्नेछ ।
रंगशाला जनताको सहयोग (चन्दा) संकलन गरेर निर्माण गरिने फाउण्डेशनले जनाएको छ । यस रंगशाला बनाउन एस ट्राभल्सले सर्वाधिक ३ करोड, अल्का हस्पिटलबाट २५ लाख, रविराज सिंहले ११ लाख र मुक्तिनाथ विकास बैकले ५ लाख दिने घोषणा गरेको समेत फाउण्डेशनले जनाएको छ ।
रंगशाला निर्माणको लागि फाउण्डेशनले महानगरपालिकासंग बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । नगरपालिकाका मेयर रेणु दाहाल र फाउण्डेशनका सिताराम कट्टेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
सम्झौता पत्रमा हस्ताक्षर गरेपछि बोल्दै मेयर दाहालले सरकारले एक महानगरमा एक सुविधासम्पन्न रंगशाला बनाउने कार्यक्रम रहेको बताउँदै फाउण्डेशनलाई जग्गा प्राप्त गर्न चुनौती नहोस भनेर जग्गा दिन तयार भएको बताईन ।
नगरपालिकाले रंगशाला निर्माणमा पूर्ण सहयोग गर्ने बताउदै दाहालले भनिन्, '२० बिघा जमिन खोज्न धेरै चुनौती थियो ।तर, हामीले जग्गा दिन तयार भएका छौं । यस महान कार्यलाई सफल बनाउन काधमा काध जोडेर सहयोग गर्नेछौं ।'
यस्तै मेयर दाहालले २ बर्षभित्र रंगशाला तयार गरेर पहिलो खेल भारत र पाकिस्तानबीच खेल गराउने समेत बताईन् ।
रंगशाला घोषणा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, युवा तथा खेलकुद मन्त्रि जगत बहादुर बिश्वकर्मा, हास्यकलाकार मदन कृष्ण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।