एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा युनाइटेड बर्नलीसंग २-२ गोलको बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा २ गोलले पछि परेको स्थिति उल्टाएर युनाइटेडले बर्नलीसंग बराबरी खेलेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा चारै गोल दोस्रो हाफमा भएको थियो ।
खेलको ५१ औं मिनेटमा एस्ले बर्नेसले गोल गर्दै बर्नलीलाई सुरुवाती अग्रता दिलाए । खेलको ८१ औं मिनेटमा क्रिस उडले गोल गर्दै बर्नलीको अग्रता २-० को बनाए ।
खेलको ७८ औं मिनेटमा युनाइटेडका पाउल पोग्बाले पेनाल्टीमा गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ९० औं मिनेटमा भिक्टोर लेन्डिलोफले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए ।
यो बराबरीसंगै युनाइटेडको जितको यात्रामा पूर्णबिराम लागेको छ । अन्तरिम प्रशिक्षक ओले गुनर सोल्सायरले क्लब सम्हालेपछि युनाइटेडले सबै खाले प्रतियोगितामा लगातार आठ खेलमा जित निकालेको थियो।
बराबरीसंगै युनाइटेडले २४ खेलबाट ४५ अंक जोडेको छ । युनाइटेड लिगको छैटौं स्थानमा छ । बर्नली २३ अंक जोडेर १५ औं स्थानमा छ ।