काठमाडौं। च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा बुधबार बार्सिलोना र बोरुसिया डोर्टमुन्ड भिड्दै छन्। यही खेलमा प्रतियोगिताका दुई सर्वाधिक गोलकर्ता आमनेसामने हुनेछन्।
बार्सिलोनाका ब्राजिलियन फरवार्ड राफिन्हाले यस सिजन ११ गोल गरेका छन्। उनले डोर्टमुन्डका स्ट्राइकर सेरहाउ गुइरासीसँग चुनौती प्रस्तुत गर्नेछन्।
गुइरासीको नाममा १० गोल छ। बायर्न म्युनिखका ह्यारी केनले पनि गुइरासी बराबरी गोल गरेका छन्। यी राफिन्हा र गुइरासीले डिसेम्बरमा लिग चरणमा बार्सिलोनाले डर्टमुन्डलाई ३–२ ले हराउँदा पनि गोल गरेका थिए।
बार्सिलोना सन् २०१८–१९ यता पहिलो पटक सेमिफाइनल पुग्ने लक्ष्यमा छ। टोलीले स्पेनिस लिगका शीर्ष स्कोरर रोवर्ट लेवान्डोस्कीमा पनि भर गर्नेछ। ३६ वर्षीय स्ट्राइकरले यो सिजन युरोपियन प्रतियोगितामा नौ गोल गरिसकेका छन्।
समग्र करिअरमा उनले १०३ गोल गरेका छन्। तीमध्ये १७ गोल उनले सन् २०११ देखि २०१४ सम्म डर्टमुन्डको जर्सीमा गरेका थिए।
तर, डर्टमुन्डलाई ठूलो धक्का भने डिफेन्डर निको श्लोटरबेकको अनुपस्थितिमा लाग्नेछ। बाँया खुट्टाको मेनिस्कसमा चोट लागेका कारण उनले बाँकी सिजन खेल्न सक्ने छैनन्।