काठमाडौं। डेक्लान राइसले दुई सानदार फ्रिकिक गोल गर्दै इङ्लिस प्रिमियर लिग क्लब आर्सनललाई च्याम्पियन्स लिग सेमिफाइनलको संघारमा पुर्याएका छन्।
स्पेनिस क्लब रियल मड्रिडविरुद्धको पहिलो लेगमा आर्सनल ३–० ले विजयी भएको हो। एमिरेट्स स्टेडियममा मंगलबार राति भएको क्वार्टरफाइनलको पहिलो लेगमा राइसले ५८औं मिनेटमा पहिलो फ्रिकिक गोल गर्दै खेलमा अग्रता दिलाए।
त्यसपछि ७०औं मिनेटमा अर्को सानदार फ्रिकिकमार्फत दोस्रो गोल गरे। मिकेल मेरिनोले ७५औं मिनेटमा तेस्रो गोल थपे।
म्याचको अन्त्यतिर मड्रिडका मिडफिल्डर एडुआर्डो कामाभिङ्गा दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिए। उनले अप्रिल १६ मा सान्टियागो बेर्नबेउमा हुने दोस्रो लेग खेल गुमाउने भएका छन्।