एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा साबिकको विजेता म्यानचेस्टर सिटी पराजित भएको छ । मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटी न्युकासल युनाईटेडसंग २-१ गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा सुरुवाती अग्रता उल्टाएर न्युकासलले जित निकालेको हो । सिटीलाई हारको स्वाद चखाउन न्युकासलका सालोमोन रोनडोन र म्याट रित्चीले एक एक गोल गरे । सिटीका सर्जियो अग्युरोले एक गोल गरे ।
खेलमा सुरुवाती अग्रता सिटीले बनाएको थियो । खेलको पहिलो मिनेटमा अग्युरोले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा न्युकासल खेलमा फर्कियो ।
खेलको ६६ औं मिनेटमा न्युकासलका रोनडोनले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । त्यसपछि खेलको ८० औं मिनेटमा पाएको पेनाल्टीमा रित्चीले गोल गर्दै न्युकासललाई २-१ को जित दिलाए ।
यो हारसंगै सिटीको उपाधि होडमा धक्का लागेको छ । हारपछि सिटीले लिग लिडर लिभरपुलविरुद्धको अंक दुरी कम गर्ने मौका गुमाएको छ । सिटीको २४ खेलबाट ५६ अंक छ । लिभरपुलको २३ खेलबाट ६० अंक छ ।
जितसंगै १४ औं स्थानको न्युकासलले २४ खेलबाट २४ अंक जोडेको छ ।