काठमाडौं। म्यानचेस्टर युनाइटेडले खर्च जुटाउन यो सिजनको अन्त्यमा एसियाको भ्रमण गर्ने भएको छ।
मे २५ मा एस्टन भिल्लासँगको अन्तिम प्रिमियर लिग खेलपछि युनाइटेडका खेलाडीले पोस्ट–सिजन टुरका लागि एसिया भ्रमण गर्ने भएका हुन्। क्लबले यस टुरको कारण ‘महत्त्वपूर्ण थप आम्दानी’ रहेको बताएको छ।
युनाइटेडका खेलाडी मे २८ मा मलेसियाको क्वालालम्पुर र मे ३० मा हङकङमा मैत्रीपूर्ण खेल खेल्न उड्ने छन्। क्लब यो सिजन युरोपा लिगको फाइनलसम्म पुग्न सक्ने सम्भावना पनि छ, जुन मे २१ मा हुने तय छ।
युनाइटेडले यो टुर एसियाली समर्थकहरूसँग खेलाडी तथा स्टाफलाई प्रत्यक्ष रुपमा जोडिने एक अद्वितीय अवसर भएको बताएको छ। साथै, यसले एसियाली क्षेत्रका महत्त्वपूर्ण व्यवसायिक साझेदारहरूसँग सहकार्य गर्न पनि सहयोग गर्ने क्लबले जनाएको छ।
क्लबका सिइओ ओमार बेर्राडाले भने,‘यी टुरले थप आम्दानी ल्याउँछन्, जसले क्लबलाई अझ सशक्त बनाउनेछ। पिचमा थप सफलता हासिल गर्न लगानी गर्न सकिनेछ।’
युनाइटेडको यो घोषणा अहिलेको व्यस्त फुटबल तालिकालाई लिएर खेलाडीको कार्यभारबारे बढ्दो चिन्ताबीच आएको हो। यसअघि नै क्लबले आगामी सिजनका लागि स्क्यान्डिनेभिया र संयुक्त राज्य अमेरिकामा प्रि–सिजन खेलको योजना सार्वजनिक गरिसकेको छ।
आर्थिक घाटा न्यूनीकरण गर्ने उद्देश्यले क्लबले हालै कर्मचारी कटौतीजस्ता खर्च बचत कार्यक्रम लागू गरेको छ। साथै, टिकटका मूल्य पनि बढाएको छ। क्लबले वर्तमान घाटा दीर्घकालीन रूपमा सहन गर्न नसकिने भएकाले यस्ता कदम चालिएको बताएको छ।