काठमाडौं। जर्मनीका पूर्वस्ट्राइकर जुर्गेन क्लिन्समानले बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनलाई आगामी बलोन डी’ओर अर्वाडको मुख्य दाबेदारमध्ये एक मानिनुपर्ने बताएका छन्।
सन् १९९० विश्वकप विजेता क्लिन्समानले भने,‘बलोन डी ओरको शीर्ष तीनमा ह्यारी केन पक्कै पनि हुनु पर्छ।’ विश्वकै उत्कृष्ट पुरुष खेलाडीलाई दिइने यो अर्वाडका लागि उनले केनको सम्भावनालाई थप बलियो बनाउन च्याम्पियन्स लिगको अन्तिम चरणसम्मको यात्रा निर्णायक मानेका छन्।
बायर्न च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा मंगलबार इन्टर मिलानसँग खेल्दैछ। ‘कम्तीमा सेमिफाइनलमा पुग्यो र सम्भवतः च्याम्पियन्स लिग जित्नुभयो भने बलोन डी’ओर पनि साथमै आउँछ,’ क्लिन्समानले लस एन्जलसस्थित आफ्नो घरबाट कुराकानी गर्दै बताए।
केनले टोटनह्यामबाट बायर्नमा सर्दै गर्दा आफ्नो खेल जीवनसँग समानता देखिएको उनले उल्लेख गरे। ‘क्लब स्तरमा मेरो अवस्था पनि लगभग त्यस्तै थियो। म टोटनह्याम छाडेर बायर्न आएपछि मात्रै क्लब टाइटल जित्ने मौका पाएको थिएँ। म सधैं भन्थें यदि ह्यारीले कुनै समयमा टोटनह्याम छाडे भने क्लबस्तरमा उपाधि जित्ने अवसर पाउनेछन्,’ उनले भने।
हाल बायर्न बुन्डेसलिगामा शीर्ष स्थानमा छ र डिफेन्डिङ च्याम्पियन बायर लेभरकुजेनभन्दा ६ अंकले अगाडि छ। बाँकी ६ खेल बाँकी रहेकोले केनको पहिलो करिअर ‘टाइटल’ जित्ने सम्भावना बलियो देखिन्छ।
क्लिन्समान आफैंले कहिल्यै बलोन डी’ओर जित्न सकेनन्। तर, सन् १९९५ मा दोस्रो स्थानमा पुगेका थिए। ६० वर्षीय क्लिन्समानले हाँस्दै भने, ‘मैले त्यो पुरस्कार नजित्नुको कारण समयको असहयोग थियो, प्रतिभाको कमी होइन। त्यो वर्ष पहिलोपटक बलोन डी’ओर युरोप बाहिरका खेलाडीहरूलाई पनि खुला गरिएको थियो। त्यसपछि एक जना जर्ज वेआ आए, जसले एसी मिलानका लागि उत्कृष्ट प्रदर्शन गरे।’
लाइबेरियाका वेआ सन् १९९५ मा बलोन डी’ओर जित्ने पहिलो (२०२५ सम्म एक मात्र) अफ्रिकी खेलाडी बनेका थिए। हाल म्यानचेस्टर सिटी र स्पेनका मिडफिल्डर रोड्री बलोन डी’ओर विजेता हुन्। यस सिजनको अवार्ड आउँदो शरद ऋतुमा प्रदान गरिनेछ।