काठमाडौं। न्युक्यासल युनाइटेडले सोमबार राति लेस्टर सिटीमाथि ३–० को सजिलो जित निकाल्दै च्याम्पियन्स लिगको स्थानको दौडमा पकड बनाएको छ।
उता, लेस्टरले प्रिमियर लिगमा लगातार आठौं खेल गोल नगरी हार बेहोरेको छ। योसँगै लेस्टर रेलिगेसननजिक पुगेको छ।
जेकब मर्फीले दुई गोल गर्दै न्युक्यासललाई सानदार सुरुआत दिलाए। खेलको दोस्रो मिनेटमै मर्फीले पहिलो गोल गरे। त्यसको केही मिनेटपछि फाबियन स्चारको हाफलाइनबाट गरिएको प्रहार बारमा लागेर फर्किएको बलमा मर्फीले दोस्रो गोलमा परिणत गरे।
३४औं मिनेटमा हर्वी बार्न्सले तेस्रो गोल गर्दै न्युक्यासलको जित पक्का गरे। बार्न्सले आफ्नो पूर्वक्लबविरुद्ध गोल गरे पनि उनले उत्सब मनाएनन्।
डिसेम्बर ८ पछि लेस्टरले घरेलु मैदानमा गोल गर्न सकेको छैन। लेस्टर प्रिमियर लिगको इतिहासमा लगातार आठवटा घरेलु खेल गोल नगरी हार बेहोर्ने पहिलो टोली बनेका छ।
खेलको अन्त्यतिर लेस्टरले १५ वर्षीय जेरेमी मोन्गालाई मैदानमा उतारेको थियो। उनी प्रिमियर लिग खेल्ने दोस्रो सबैभन्दा कान्छा खेलाडी बनेका छन्।
‘लिग कप जितेपछि ध्यान केन्द्रित राख्नु चुनौतीपूर्ण थियो। तर, खेलाडीहरूले अनुशासन देखाए। हामीसँग अब तीन कठिन खेलहरू छन् (म्यान्चेस्टर युनाइटेड, क्रिस्टल प्यालेस, एस्टन भिला)। यो खेलले हाम्रो सिजन कहाँ पुग्छ भन्ने निर्धारण गर्नेछ,’ न्युक्यासलका प्रशिक्षक एडी हाउले भने।
न्युक्यासल अहिले पाँचौं स्थानमा उक्लिएको छ। चौथो स्थानको चेल्सीसँग न्युक्यासलको समान अंक छ। यस सिजन इङ्ल्यान्डका क्लबहरूको राम्रो प्रदर्शनका कारण पाँचौं स्थानमै च्याम्पियन्स लिग स्थान सुनिश्चित हुने सम्भावना बलियो छ।
अबको दौड निकै प्रतिस्पर्धात्मक छ। तेस्रो स्थानको नटिङ्घम फरेस्टदेखि सातौं स्थानको एस्टन भिलासम्म केवल ६ अंकको फरक छ।