काठमाडौं। नापोली सोमबार बोलोनासँग १–१ को बराबरीमा रोकिँदा सिरी ‘ए’ को अंक तालिकामा शीर्ष स्थानमा रहेको इन्टर मिलानले राहतको सास फेर्ने मौका पाएको छ।
च्याम्पियन्स लिगको स्थानको दौडमा रहेको बोलोनाले तेस्रो स्थानमा उक्लिने अवसर गुमायो। नापोलीका आन्द्रे–फ्राङ्क जाम्बो एङ्गुइसाले १८औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए।
पहिलो हाफमा नापोली प्रभावशाली देखिए पनि दोस्रो हाफमा बोलोना खेलमा फर्कियो। ६४औं मिनेटमा डान एनदोएले जेन्स ओडगार्डको लो क्रसलाई ब्याकहिल गोल गर्दै खेल बराबरीमा ल्याए।
गोलकिपर सिमोने स्कुफ्फेटले अन्तिम मिनेटमा एमिल होल्मको हेडर रोकेर नापोलीलाई हारबाट जोगाए।
‘दोस्रो हाफ उत्कृष्ट थियो। हामीले नापोलीलाई आधा मैदानमै सीमित गर्यौं। जित्ने अवसर थियो, तर एक अंक पनि राम्रो हो,’ बोलोना प्रशिक्षक भिन्सेन्जो इटालियानोले भने।
नापोलीले जितेको भए इन्टरसँगको दूरी एक अंकमा झर्ने थियो। तर, बराबरीसँगै अहिले इन्टरभन्दा तीन अंकले पछि छ। इन्टरले शनिबार पार्मासँग २–२ को बराबरी खेलेको थियो। त्यसैले नापोलीलाई अंक दूरी घटाउने मौका मिलेको थियो।
नापोलीको बाँकी सात खेल सबै कमजोर टोलीविरुद्ध छर इन्टरले अझै बोलोना, रोम र लाजियोजस्ता बलिया टोलीसँग खेल्न बाँकी छ। नापोलीको सहायक प्रशिक्षक क्रिस्टियन स्टेलिनी (निलम्बित कोन्टेको ठाउँमा) ले भने, ‘हामीले पहिलो हाफ निकै राम्रो खेलेका थियौं। तर, दोस्रो हाफमा हामीले आक्रमण होइन, रक्षामा ध्यान दिँदै लय गुमायौं। बोलोनाजस्तो फर्ममा रहेको टोलीविरुद्ध खेल सम्हाल्न गाह्रो हुन्छ।’
बोलोना अहिले तालिकाको चौथो स्थानमा छ। टोली च्याम्पियन्स लिगको स्थानमा पुग्ने बलियो दावेदार देखिएका छ। साथै, इटालियन कपमा पनि इटालियानोको टोली सेमिफाइनलको पहिलो लेगमा एम्पोलीलाई ३–० ले हराएर फाइनलनजिक पुगेको छ।
बोलोनाले यो वर्षको सुरुयता मात्र एक खेलमा हार बेहोरेको छ। अब बोलोनाको अर्को ठूलो खेल एटलान्टाविरुद्ध छ, जुन च्याम्पियन्स लिगको दौडका लागि निर्णायक हुनसक्छ।