काठमाडौं। तिलक बर्मा र कप्तान हार्दिक पाण्ड्याको आक्रामक ब्याटिङका बाबजुद मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा चौथो हार बेहोरेको छ।
मुम्बईको घरेलु मैदानमा सोमबार सम्पन्न खेलमा रोयल्स च्यालेन्जर्स बैंग्लोर १२ रनले विजयी भएको हो। पाँचपल्टको आइपिएल विजेता मुम्बईलाई पराजित गरेको बैंग्लोरले चार खेलबाट ६ अंक बटुलेको छ।
बैंग्लोर तेस्रो स्थानमा यथावत छ। समान खेलबाट दुई अंक जोडेको मुम्बई आठौं स्थानमा छ। बैंग्लोरले दिएको २२२ रनको लक्ष्य पछ्याएको मुम्बईले नौ विकेट गुमाउँदै २०९ रन मात्रै बनाउन सक्यो। मुम्बईका तिलकले सर्वाधिक ५६ रन बनाए। २९ बल खेलेका उनले समान चार चौका र छक्का प्रहार गरे।
हार्दिकले १५ बलमा तीन चौका र चार छक्का प्रहार गरे। यी दुईले पाँचौं विकेटका लागि ३४ बलमा ८९ रनको साझेदारी गरेका थिए। यद्यपि, यी दुईको आक्रामक ब्याटिङले मुम्बईलाई दोस्रो जित दिलाउन सकेनन्।
मुम्बईले अन्तिम तीन ओभरमा चार विकेट गुमाएको थियो। मुम्बईका विल ज्याक २२ रनमा आउट हुँदा मुम्बईको खातामा रोहित शर्मा र र्यान रिकेल्टनले समान १७ रनको योगदान दिए।
बैंग्लोरका क्रुनाल पाण्ड्याले सर्वाधिक चार विकेट लिए। चार ओभर बलिङ गरेका उनले ४५ रन खर्चिए। यश दयाल र जोश हजलवुडको नाममा समान दुई विकेट रह्यो।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको बैंग्लोरले पाँच विकेट गुमाउँदै २२१ रन बनाएको थियो। बैंग्लोरका ओपनर विराट कोहलीले सर्वाधिक ६७ रन बनाए। ४२ बल खेलेका उनले आठ चौका र दुई छक्का प्रहार गरे।
जारी प्रतियोगितामा उनले बनाएको यो नै सर्वाधिक रन हो। यसअघि उनले कोलकाता नाइट राइडर्सविरुद्ध अविजित ५९ रनको इनिङ्स खेलेका थिए।
कप्तान रजत पाटिदारले ३२ बलमा पाँच चौका र चार छक्कासहित ६४ रन बनाए। देवत्त पडिक्कर ३७ रनमा आउट हुँदा जीतेश शर्मा ४० रनमा अविजित रहे। मुम्बईका ट्रेन्ट बोल्ड र कपतान हार्दिक पाण्ड्याले समान दुई विकेट लिए।