सिमरा। ‘ए’ डिभिजन डर्बीमा फ्रेन्ड्स क्लबलाई पराजित गर्दै हिमालयन शेर्पा क्लब जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
सिमरा रंशालामा सोमबार राति सम्पन्न खेलमा शेरपा १–० ले विजयी भएको हो। योसँगै १५औं संस्करणको सेमिफाइनल समीकरण पूरा भएको छ।
हिमालयन शेर्पाले फाइनल प्रवेश गर्न बुधबार आयोजक नवजनजागृति युवा क्लबलाई चुनौती प्रस्तुत गर्नेछ। मंगलबार साँझ हुने पहिलो सेमिफाइनलमा मच्छिन्द्र फुटबल क्लबले चितवनको हनामी बिएफसी भरतपुरसँग प्रतिस्पर्धा गर्नेछ।
शेर्पाको जितमा खेलको नवौं मिनेटमा भारतीय खेलाडी रोबर्ट खोङजोले गरेको गोल नै निर्णायक बन्यो। विनु आलेमगरको पासमा रोबर्टको पहिलो प्रहार फ्रेन्ड्सका गोलकिपर विकेश कुथुले राम्रोसँग नियन्त्रणमा लिन सकेनन्। रिबाउन्ड बलमा पुनः रोबर्टले गोल गरेका हुन्।
खेलको म्यान अफ द म्याच शेर्पाका रोबर्ट घोषित भए। उनले १० हजार रुपैयाँ नगद प्राप्त गरे।