काठमाडौं। २२ महिनाअघि सम्पन्न ‘ए’ डिभिजन लिगको अंक तालिकामा पुछारमा रहेर एफसी खुमलटार र विभागीय एपिएफ क्लब रेलिगेसनमा परेका थिए।
शीर्ष डिभिजनमा उक्लिएकै वर्ष २६ खेलमा २७ अंक जोड्दै रेलिगेसनमा परेपछि खुमलटारले सहर्ष आफ्नो नतिजा स्वीकार गर्यो। तर, २०६० सालदेखि शीर्ष डिभिजन खेल्दै आएको एपिएफलाई भने आफूले हात पारेको १३औं स्थान चित्त नै बुझेन।
समान २६ खेलबाट ३० अंक जोडेको एपिएफलाई यो चित्त नबुझ्नु स्वाभाविक नै थियो। किनभने अन्तिम खेलमा थ्री स्टार क्लबले कप्तान विक्रम लामाको पेनाल्टी गोलमार्फत जावलाखेल युथ क्लबलाई १–० ले पराजित गर्दै गोल संख्याको आधारमा आफूलाई रेलिगेसनबाट जोगायो।
तर, जावलाखेल र च्याम्पियन चर्च ब्वाइज युनाइटेडविरुद्धको खेलमा थ्री स्टारले दुई विदेशी खेलाडी अजयी माटिन्स र पिटर सेगुनलाई श्रम स्वीकृति सकिए पनि अवैधानिक रूपमा मैदान उतारेर रेलिगेसन टारेको भन्दै एपिएफले एन्फा, अदालत र एसियन फुटबल महासंघ (एएफसी) समेत गुहारेको थियो।
यद्यपि, एपिएफको यो उजुरीको टुंगो लागिसकेको थिएन भने उसले ‘ए’ डिभिजन क्लबकै मान्यता पाउने या नपाउने अझै दोधारै थियो। तर, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार बसेको एन्फा र ११ क्लबबीचको बैठकमा भने खुमलटार र एपिएफ दुबैले ‘ए’ डिभिजन क्लबकै हौसियामा सहभागिता जनाएका छन्। एन्फा महासचिव किरण राई र सिइओ इन्द्रमान तुलाधरको नेतृत्वमा उक्त बैठक बसेको थियो।
‘हो, हामीले लिग कम नकआउट फुटबल प्रतियोगिता आयोजना गर्न बैठक डाकेका थियौं। त्यसमा खुमलटार र एपिएफ पनि सहभागी भएका हुन्,’ संकटा क्लबका अध्यक्षसमेत रहेका एन्फाका सिइओ तुलाधरले खेलपाटीसँग भने।
स्रोतका अनुसार तुलाधरले बैठकमा एन्फा र ‘ए’ डिभिजन क्लब दुवैको नेतृत्व गरेका थिए। बैठकमा विभागीय टोली नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबका प्रतिनिधि भने सहभागी थिएनन्। यद्यपि, एन्फाले यीसहित १४ क्लबलाई समेट्दै प्रतियोगिता आयोजना गर्ने तयारी गरेको हो।
तर, ‘बी’ डिभिजनमा झरिसकेका दुई क्लबलाई पनि अझै ‘ए’ डिभिजनले खेल्ने प्रतियोगितामा खेलाउन पाइन्छ त? भन्ने खेलपाटीको प्रश्नमा तुलाधरले भने,‘लिगको साइकल पूरा भइसकेको छैन। ‘बी’ डिभिजनबाट ‘ए’ मा उक्लिन पर्ने क्लब उक्लिएका छैनन्। त्यसैले खुमलटार र एपिएफलाई पनि ‘ए’ डिभिजन क्लबकै मान्यता पाइराखेको हो।’
बैठकमा खुमलटारको प्रतिनिधित्व अध्यक्ष मणिराज विष्टले गरेका थिए। २०८० सालमा शीर्ष डिभिजन लिग भएयता एन्फाले अर्को लिग गर्न सकेको छैन। यस्तै,‘बी’ डिभिजन लिग पनि करिब साढे तीन वर्षपछि भरखरै एन्फाले निरन्तरता दिइरहेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको उक्त लिगका पाँचौं चरणका खेल आयोजना भइरहेका छन्। नियमित लिग नहुँदा नेपाली क्लबले एएफसी क्लब कम्पिटिसनमा सहभागिता जनाउन पाएका छैनन्। त्यसैले एएफसीको प्रतियोगितालाई लक्षित गरेर एन्फाले वैशाख २० गतेबाट १४ क्लब सहभागिता लिग कम नकआउट फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो।
एन्फा महासचिव राईका अनुसार सो प्रतियोगिताको विजेताले एएफसी क्लब कम्पिटिसन २०२५/०२६ सिजनमा भाग लिन पाउने छ। प्रतियोगितामा सहभागी हुन वैशाख १० गतेभित्र टिम दर्ता गर्नुपर्ने एन्फाले जनाएको छ। त्यसको पाँच दिनभित्र न्यूनतम खेलाडी दर्ता गर्ने एन्फा र क्लबबीच सहमति पनि भएको छ।