पोखरा । विभागीय टोली सशत्र प्रहरीको एपीएफ क्लब छैटौं संस्करणको मनकामना कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा हिमालयन शेर्पा क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै एपीएफ क्वाटरफाइनलमा पुगेको हो ।
एपीएफलाई जित दिलाउन आशिष लामा र सुदिप शिख्राकारले एक एक गोल गरे । हिमालयनका अमर डंगोलले एक गोल फर्काए ।
खेलको २५ औं मिनेटमा आशिषले गोल गर्दै एपीएफलाई १-० को अग्रता दिलाए । खेलको ५५ औं मिनेटमा हिमालयनका अमरले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए । तर, खेलको ७८ औं मिनेटमा सुदिपले पेनाल्टीमा गोल गर्दै एपीएफलाई २-१ को जित दिलाए ।
कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत बुधबार च्यासल युथ क्लब र क्यामरुनको डुफिन्स क्लबबीच खेल हुनेछ ।
प्रतियोगिताको विजेताले ७ लाख ५५ हजार प्राप्त गर्ने छन् ।